इरानमा ठूलो वर्षा हुने पूर्वानुमानपछि हजारौँलाई सुरक्षित स्थलमा सारिदै

Eran

काठमाडौं । बाढीग्रस्त इरानमा थप ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिएको छ । मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको छ ।

उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारिँदै छ भने पुरुषहरूलाई उद्धार तथा राहतको काममा सहयोग गर्न तिनै क्षेत्रमा बस्न भनिएको छ । केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या हालसम्म ७० पुगेको छ ।

पचाँस हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन् । त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ । गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ ।

यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन् । मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन् । हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन् । अहिलेसम्म ८६ हजार मानिसहरू आपत्कालीन आश्रयस्थलमा बसिरहेका छन् । तीमध्ये झन्डै एक हजार जनालाई हवाईमार्गबाट सुरक्षित स्थानमा सारिएको छ ।

 

प्रतिकृया दिनुहोस