मूल्यवृद्धिको विरोधमा सुडानमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

Hawa

काठमाडौं । खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ । चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् । प्रदर्शनकारीहरु सैन्य मुख्यालयमै पुगेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ ।

राष्ट्रपति ओमार अल वसिर विरुद्ध नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका हुन् । त्यस क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । सुरुमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनका उत्रिएकाहरुले अहिले भने राष्ट्रपतिकै राजीनामा माग गरेका छन् ।

चिकित्सक, शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएर यातायातनै ठप्प पारेपछि त्यहाँको जनजीवन बिगत चार महिनादेखि अस्तव्यस्त बनेको छ ।

प्रदर्शनकारीहरुले सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् । मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० बढीको मृत्यु भइसकेको जनाएको छ ।(एजेन्सी)

प्रतिकृया दिनुहोस