भारत अन्तरिक्षको क्षेत्रमा चौथो महाशक्ति राष्ट्र बन्यो : मोदी

Modi2

काठमाडौं । भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएको एउटा भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत् सफलतापूर्वक खसालेको बताएका छन् ।

बुधबार देशवासीका नाममा सम्बोधन गर्दै उनले ‘मिसन शक्ति’ नाम दिइएको अभियानको सफलतासँगै अब अन्तरिक्ष विज्ञानको क्षेत्रमा भारत अमेरिका, रुस र चीनसँगै चौथो महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको दाबीसमेत गरे ।

तर, उनले कसको भूउपग्रहलाई क्षेप्यास्त्रमार्फत् खसालेको भन्नेबारे कुनै उल्लेख गरेनन् । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको स्पस्ट पारे । भारतीय वैज्ञानिकहरुकाअनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटरमाथि पृथ्वीको तल्लो कक्षमा थियो ।

मिश्रित प्रतिक्रिया

प्रधानमन्त्री मोदीको सो सम्बोधन चुनावलाई प्रभावित पार्ने अभियानकै कडीकारुपमा आएको भन्दै मिश्रित प्रतिक्रिया आएका छन् । भारतका केही विपक्षी दलले बेरोजगारी, ग्रामीण संकट र महिला सुरक्षाजस्ता विषयबाट ध्यान हटाएर आकाशतिर ध्यान खिचेको बताएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेसले अन्तरिक्ष अभियानको सफलतामा बधाइ दिएपनि उक्त अभियान सन् २०१२ मा कांग्रेस गठबन्धन सरकारको योजना रहेको दाबी गरेको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस