जनकपुर बमकाण्ड : ७ वर्षपछि सुनवाइ सुरु, पूर्वमन्त्री सञ्जयकुमार साह योजनाकार भएको दाबी

Janakpur kanda

जनकपुर । जनकपुरमा सात वर्षअघि भएको बम विष्फोटको मुद्दामाथि आइतबारदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको छ ।

जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते गराइएको शक्तिशालि बम विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए भने ३२ जना घाइते भएका थिए ।

त्यसबेला नयाँ संविधानमा मिथिला राज्य माग गर्दै मिथिला राज्य संघर्ष समितिको आयोजनामा भएको शान्तिपूर्ण प्रर्दशनमा विस्फोट गराइएको थियो ।

जिल्ला अदालत धनुषाको सात नम्बर बेन्चबाट न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा सुनवाइ सुरु भएको हो ।

सुनवाइको पहिलो दिन सरकारी अधिवक्ता शम्भु गौतमले पूर्वराज्यमन्त्री तथा तत्कालिन सांसद सञ्जयकुमार साहले सुनियोजित रुपमा घटना घटाएको प्रमाण पेश गरेका छन् ।

साहले जनकपुरकै होटल व्यवसायी जीवनाथ चौधरीलाई हत्या गर्ने अभिप्रायले अन्य अभियुक्तसँग मिलेर घटना घटाएको अधिवक्ता गौतमले तर्क गरेका छन् ।

प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो । मुद्दामा मुकेश चौधरी, राजन मुक्तिलगायतलाई मुख्य अभियुक्त एवं जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र आदित्य देवलाई अभियुक्त बनाइएको छ ।

२०७० चैत्र २४ गते प्रहरीले पुरक अभियोग पत्र दर्ता गरी मुख्य अभियुक्तमा तत्कालिन सांसद सञ्जयकुमार साहको नाम अघि सारेको थियो ।

साहसँगै फुलकुमार यादव, नागराज भन्ने उमेश तिवारी, सुजितकुमार पाण्डेय र ओम्प्रकास यादवलाई अभियुक्त बनाइएको छ ।

तत्कालिन सांसद सञ्जयकुमार साहले आफ्नो शत्रु चौधरीलाई मार्न तराई जनतान्त्रिक पार्टी मधेस नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीसँग ५० लाखमा सम्झौता गरेको दाबी गरिएको छ ।

सम्झौताअनुसार चौधरीलाई साहले पहिलो किस्तामा ५ लाख भारु दिएका थिए । साहको योजनामा अभियुक्त चौधरीले विस्फोटको योजना बनाएका थिए ।

उनले आफ्ना संगठनका कार्यकर्तालाई प्रयोग गरी विस्फोट गराएका थिए । उनले भारतबाट विस्फोटक आरडिएक्स खरिद गरि बम बनाउन लगाएका थिए ।

उनका सहयोगीले अभियुक्तमध्येका एक प्रहरी जवान मुकेश कर्णको सहयोगमा विस्फोटक नेपाल ल्याएका थिए ।

बारुद र आरडीएक्सको प्रयोग गरि शक्तिशालि बम बनाएर रिमोट कन्ट्रोलबाट विस्फोट गराउने योजना बनाएर बमको नमुना परिक्षण भयो ।

रामानन्द चोकमा विस्फोट गराउनुभन्दा एक दिन अगाडी जनकपुरस्थित तत्कालिन् एमाले पार्टी कार्यालयमा विस्फोट गराए ।

घटना भएको दिन विहान चौधरी र साहले एक अर्कासँग फोनमा कुरा गरि चौधरी होटेलबाट धर्नास्थलमा आएर बसेपछि विस्फोट गराउने निधो गरेका थिए ।

रामानन्द चोकमै होटल सितासरण सञ्चालन गर्दै आएका चौधरी धर्नास्थलमा आए पनि र साहको योजनाअनुसार चौधरीले आफ्ना कार्यकर्तालाई बम कुर्सीमा राखेर रिमोटबाट विस्फोट गराउन निर्देशन दिए ।

योजनाअनुसारनै बम विस्फोट भयो । तर, मुख्य टारगेट चौधरी बाँच्न सफल भए । धर्नामा बसेका मध्ये मिथिलाकी चर्चित रंगकर्मी रञ्जु झा, स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्ययाको ज्यान गयो ।

अभियुक्त मुकेश चौधरीले साहसँग फोनमा गरेका हरेक कुराकानी रेकर्ड गरेर राखेका थिए । घटनापछि साह र चौधरीको कुरा नमिलेपछि चौधरी हातहतियार खरखजाना मुद्दामा पक्राउ परे ।

उनले साहलाई पनि घटनामा पेले । अदालत समक्ष सबै रेकर्ड उपलब्ध गराए । मुख्य अभियुक्त चौधरीकै बयान र रेकर्ड प्रमाणको आधारमा साह पक्राउ परे ।

साह र चौधरीसहित अन्य अभियुक्त हाल पूर्पक्षका लागि थुनामा छन् ।

प्रतिकृया दिनुहोस