महानगरको शुन्य लागतमै ५९ नयाँ स्मार्ट शौचालय निर्माण हुँदै

Ktm mahanagar

काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने भएको छ । महानगरले जापानको सहयोगमा काठमाडौंमा शौचालय निर्माण गर्न लागेको हो ।

महानगरपालिकाले शौचालयसँगै सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त्त शौचालय बनाउन लागेको हो ।

महानगरले महानगरपालिका भित्रका सबै सम्पदा क्षेत्रमा यस्ता शौचालय निर्माण गर्न लागेको हो ।

पशुपतिलगायत महानगरका विभिन्न सम्पदाहरू स्वयम्भु, हनुमानढोका, बौद्ध क्षेत्र लगायतमा स्मार्ट शौचालय निर्माण गर्न लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा बनेको समितिको प्रतिवेदनअनुसार ५९ नयाँ शौचालय बनाउने र ५८ वटा पुराना शौचालयलाई व्यवस्थित गर्ने गरी काम अघि बढेको हो ।

स्मार्ट शौचालय आधुनिक सहरको झल्को दिने खालको हुनेछ । हाल सहरमा व्याप्त पानीको अभाव, दुर्गन्धित र अँध्यारा शौचालयलाई विस्थापित गरी स्मार्ट शौचालय निर्माण गरी सभ्य सहरको परिचय दिन लागिएको हो । महिला, अशक्त तथा अपाङ्गमैत्री शौचालय हुने प्रवक्ता डंगोल बताउँछन् ।

काठमाडौं शहरमा सार्वजनिक शौचालयको अभाव छ । शौचालय भए पनि पानी पर्याप्त नभएकोले शौच गर्न समस्या भइरहेको छ ।

महानगरपालिका उपमेयर खड्गीले यस्ता समस्या भएको कारणले विशेषगरी महिलालाई शौच गर्न धेरै समस्या हुने गरेको बताइन् ।

'महानगरको यो कामले राजधानीबासीलाई धेरै सहज बनाउने छ’ उनले भनिन् । राजधानीमा सु-व्यवस्थित शौचालय नहुनु लाजको कुरा भएको पनि उनले बताइन् ।

अब भने स्मार्ट शौचालय बनेपछि राजधानीबासी र आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई सहज हुने उनले बताइन् ।

स्मार्ट शौचालय महानगरको शुन्य लागतमा निर्माण हुँदैछ । महानगरपालिकाले संयोजन मात्र गर्ने प्रवक्ता डंगोलले बताए । स्मार्ट शौचालय निर्माण गर्न जाइकाले चासो देखाएको छ ।

प्रतिकृया दिनुहोस