बर्दियामा मानव र बाघबीचको द्वन्द बढ्दो

Tiger 2

गुलरिया । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्न थालेको छ ।

नेपालमा बाघ संरक्षणको काम प्रभावकारी भएपछि पाटेबाघको संख्या बृद्धिसँगै आहारा प्रजातीको कमी, वासस्थान विनास र अतिक्रमणलगायत प्रकृतिमाथी अत्याधिक मानवीय दोहनका कारण मानव र बाघविच द्वन्द चुलिएको हो ।

पाटेबाघका प्रजाती संरक्षण गर्ने उद्देश्यले सन् २०१० को टाईगर समिटमा बनाइएको ग्लोबल टाइगर रिकभरी प्लानअनुसार सन् २०२२ सम्म विश्वमा बाघको संख्या ६ हजार पुर्याउने लक्ष्य राखिएको छ । यस अभियानमा नेपालको पनि सहमत छ ।

जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिने बर्दियामा पुस र माघमा मात्र पाटेबाघ र मानवबीच थुप्रै द्वन्द भएपछि संरक्षण क्षेत्रमा चिन्ता बढ्न थालेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरिया कुवाभारमा पुस महिनामा वा ८ च ३९१८ नम्वरको पिकअप भ्यानले पुर्वपश्चिम राजमार्गमा पाटेबाघलाई ठक्कर दिँदा बाघ घाइते भएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भने, ‘घाइते बाघलाई निकुञ्जमा ल्याई उपचारपछि सामान्य अवस्थामा ल्याएका छौं । साढे एक बर्षअघि सोही क्षेत्रमा बसको ठक्करबाट एउटा पाटेबाघ दुर्घटनामा परेर मरेको थियो ।’

बर्दियाको गेरुवा गाउँपालिका–४ स्थित खेतवारीमा जमीन मुनी मृत बाघ गाडीएको अवस्थामा भेटिएको थियो ।

अनुसन्धानमा बँदेललाई थापिएको विद्युतीय धरापमा परी बाघ मरेको पाइएको थियो । केही बर्षअघि राजापुर र कर्मलामा विद्युतिय धरापमा परि दुई वटा जंगली हात्ती समेत मरेका थिए ।

मानव र बन्यजन्तुबिचको द्वन्द न्युनीकरण गर्दै दीगो सह–अस्तित्व कायम गर्न सरकारले ठोस पहल गर्न नसकेको पीडितको गुनासो छ ।

बढैयाताल गाउँपालिका–२ स्थित सितापुर निवासी ६५ बर्षिय चन्द्रबहादुर शाहीले गहुँ बारीमा लुकेको बाघको आक्रमणमा परी उपचारका क्रममा मृत्यु बरण गरे ।

तिन वटा डमरु सहित लुकेको बाघले मकै रोपी रहँदा शाहीलाई आक्रमण गरेहो स्थानिय वताउँछन् । सोही निवासी ३० बर्षिय अर्का घाईते विजय वुढाक्षेत्री उपचार पश्चात सामान्य अवस्थामा आएका थिए ।

भारतको कर्त्नियाघाट वनविहारबाट बाघ गाउँघर तर्फ आएको अनुमान डिभिजन बन कार्यालय बर्दियाको छ ।

दुई महिना भित्रका घटनाक्रमबाट पनि बाघ र मानव विच सहअस्तित्व कायम नभएको प्रष्ट देखिन्छ ।

मानविय अतिक्रमण र दोहनका कारण मानव र लोपोन्मुख बन्यजन्तु बाघ विच द्वन्द बढेको भण्डारीले प्रष्ट्याए ।

विश्वमा पाईने नौ प्रजातीका बाघहरु मध्ये बाली, जाभान र क्यास्पियन प्रजाती लोप भैसकेका छन् । हाल विश्वका १३ देशमा ६ प्रजातीका पाटेबाघ पाईन्छन् ।

बाघ अनुगमनको पछिल्लो नतिजा अनुसार नेपालमा सन् २०१३ को तुलनामा ३७ वटा पाटेबाघ बढेका छन् ।

जसअनुसार चितवनमा घटेर ९३, बर्दियामा बृद्धिभै ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा गरी दुई सय ३५ वटा पाटेबाघ नेपालमा रहेको सरकारी तथ्यांक छ ।

बाघको संख्या बृद्धि हुँदैजाँदा मानव र यिनिहरु विच सहअस्तित्व कायम गर्न चुनौती थपिदै द्वन्दात्मक अवस्था बढेर गएको भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस