साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालको सहज जित, नेपाल बन्यो समुह विजेता

Sport biratnagar

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समुह विजेता बनेको छ । शनिबारको खेलमा बंगलादेशमाथि सहज जित हात पार्दै समूह ‘ए’ को विजेता बनेको हो ।

शनिबारको खेलमा नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले ३-० को सहज जित निकालेको छ । यसअघि पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् । यसअघि सावित्रा भण्डारी वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकेकी थिइनन् । दर्शकको साथ पाएको नेपालले १०औं मिनेटमा अर्को गोल गर्ने अवसर खेल फाल्यो । कप्तान निरु थापा वान भर्सेस् वानमा गोल गर्न चुकिन् ।

तर, २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई पनि बिट गर्दै गोल गरेकी थिइन् । पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल ३–० गोलको अग्रतामा रह्यो ।

खेलको ५८औं मिनेटमा सावित्राले प्रहार गरेको बल बंगलादेशकी मसुरा पर्भिनले बचाइन् । किपर रुप्ना चक्मा विट भइसकेको अवस्थाबाट पर्भिनले गोल लाइनबाट बल क्लियर गरेकी थिइन् ।

६४औं मिनेटमा पर्भिन नै फेरि बाधक बनिन् । सावित्राले प्रहार गरेको बल डिबक्सभित्रबाट पर्भिनले नै क्लियर गरेकी थिइन् ।बंगलादेशले दोस्रो हाफमा राम्रो भुम बनाएको थियो तर, प्रहार बारमा लागेर फर्किन पुग्यो ।

प्रतिकृया दिनुहोस