सहमतिको पर्सिपल्टै सीके राउत जनकपुर र्यालीमा

Ck raut

जनकपुर । सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउत स्वतन्त्र मधेस माग्दै आयोजना गरिएको र्यालीमा सहभागी भएका छन् ।

सरकारसँग भएको विखण्डनको राजनीति सहमतिको ६ नम्बर बुँदामा संविधानको व्यवस्था र सहमतिलाई प्रतिकूल हुने प्रचार सामग्री प्रयोग गर्न बन्देज लगाइएको छ ।

तर उनको स्वागतमा आइतबार जनकपुरमा समर्थकले ‘फ्रि मधेस’ लेखिएका झन्डासहित र्याली निकाले भने स्वतन्त्र मधेसको पक्षमा चर्को नाराबाजीसमेत गरे ।

राउतको सुरक्षाका लागि भन्दै छुट्टै दस्तासमेत विमानस्थलमा खटिएको थियो । मुखमा मास्क लगाएका, टाउको छोपिने गरी झन्डा बेरेका र छातीमा सुरक्षाकर्मीकै जस्तो ज्याकेट भिरेका उनीहरू विमानस्थलको बाहिरी परिसरमा बसेका थिए ।

अपराह्न बुद्ध एयरको जहाजबाट ओर्लिएका राउतलाई उनीहरूले स्यालुट ठोके र आफ्नो घेराभित्र राखेर गाडीसम्म पुर्याए ।

विमानस्थलबाट निस्कँदै गर्दा राउतलाई उनका समर्थकले ‘स्वतन्त्र मधेसजिन्दावाद’ नारा लगाउँदै माला र अबिर लगाइदिए । उनले त्यहाँ उपस्थित सबै जनासँग हात मिलाए ।

आफैंले हस्ताक्षर गरेको सम्झौता उल्लंघन गर्दै कार्यकर्ताले प्रयोग गरेको झन्डा र नाराबाजीबारे भने कुनै प्रतिक्रिया दिएनन् ।

विमानस्थलमा राउतसँग प्रतिक्रिया लिन खोज्दा सुरक्षाकर्मीझैं खटिएको दस्ताले सञ्चारकर्मीलाई धकेल्दै पर पुर्याइदिएको थियो ।

राउत चढेको गाडीको पछाडि सिटमा समेत तिनै कार्यकर्ता बसे । राउतको गाडीको अघि–पछि मोटरसाइकलको लाम लगाएर गठबन्धन समर्थकले जनकपुर परिक्रमा गरे ।

ट्राफिक प्रहरी चढेको मोटरसाइकल राउतको गाडीको अघि र नेपाल प्रहरीको भ्यान र्यालीको पछि–पछि गुडेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी हरिबहादुर पालले राउतलाई सुरक्षा नदिइएको तर सुरक्षा निगरानीमा भने राखिएको बताए ।

‘अन्य व्यक्तिबाट राउतलाई र राउतबाट अन्य व्यक्तिलाई असुरक्षा नहोस् भनेर निगरानीमा राखिएको छ,’ डीआईजी पालले भने, ‘सुरक्षा थ्रेटकै कारण राउत आफ्नै कार्यकर्ताको घेरामा बसेका होलान् ।’

विमानस्थलबाट कार्यकर्तासहित नगर परिक्रमा गरेपछि राउत जनकपुर–८ स्थित बलवा टोलमा रहेको भाडाको घरमा पुगे । जनकपुर हुँदा उनी त्यही घरमा बस्छन् ।

असोज २१ गते रौतहटको गौरबाट पक्राउ परेका राउतलाई गत बिहीबार सर्वोच्च अदालतले रिहा गरेको थियो ।

रिहा भएकै भोलिपल्ट शुक्रबार सरकारसँग सहमति गरी उनले विखण्डनको मुद्दा छाडेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...