‘पागल अल्पसंख्यक’ विपक्षीलाई हराएरै छोड्ने मादुरोको उद्घोष

1789958551maduro

काठमाडौं, फागुन । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा रहेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताएका छन् ।

विपक्षी नेता क्आन गुएडोलाई चुनौति दिँदै राष्ट्रपति मादुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वान गरेका छन् । दक्षिण अमेरिकी देशको भ्रमणमा रहेका विपक्षी नेता गुएडो स्वदेश फर्किएपछि राष्ट्रपति मादुरोको भनाई आएको हो ।

सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुएडो सोमबार काराकास फर्किएका थिए । राष्ट्रपति मादुरोले ट्रेड युनियनका नेताहरुसँग भेटेर कामदारलाई व्यवस्थापनको निर्देशन बहिष्कार गरि आंशिक हड्ताल गर्न भनेका छन् ।

विपक्षी पार्टीको अग्रता रहेको नेशनल एसेम्बलीको अध्यक्षको नाताले गुएडोले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । संसदले मादुरो पुनः निर्वाचित भएको चुनावलाई मान्यता नदिएपछि गुएडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका हुन् ।

अमेरिकाको सहयोगमा विपक्षीले कू गर्न चाहेको राष्ट्रपति मादुरोले आरोप लगाएका छन् ।

आफ्ना राजनीतिक गुरु हुगो चावेजको निधन भएको छैटौँ वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा मादुरोले भने, ‘पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेशको यात्रा कायम राखेका छन्, यो उनीहरुको समस्या हो । हामीले उनीहरुलाई ध्यान दिने छैनौँ ।’

सेनाका अधिकारीसहितको कार्यक्रममा मादुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने बताए । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाई थियो ।

विपक्षी नेता गुएडोलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।

आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

 

प्रतिकृया दिनुहोस