नक्कली पासपोर्ट बोकेका ३ इरानीलाई ५ वर्षसम्म नेपाल प्रवेशमा रोक

Griha mantralye44

काठमाडौं । टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ इरानीलाई गृह मन्त्रालयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाएको छ ।

गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो । उनीहरू भारतबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए ।

पुस १४ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा त्यहाँको अध्यागमनले ग्रिसको राहदानीमा भएको नेपालको भिसा शंकास्पद भन्दै उनीहरूलाई फिर्ता पठाएको थियो ।

अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूलाई गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको फागुन १० को सचिवस्तरीय निर्णयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।

जाली राहदानीमा नेपाललाई ट्रान्जिट बनाइ ओहोरदोहोर गर्ने इरानीको संख्या केही समययता ह्वात्तै बढेको छ। उनीहरूले एउटै परिवार बताए पनि अनुसन्धानबाट पुष्टि भएन ।

मोहम्मद मानव तस्करीमा संलग्न भएको आशंका गरिए पनि पुष्टि हुन सकेन। इन्टरपोलको रेकर्डअनुसार उनीहरूले बोकेको राहदानी टर्की र ग्रिसको भएको र ती हराएका वा चोरिएका (एसएलटीडी) हुन् ।

उनीहरूले कहिले टर्की त कहिले ग्रिसको नागरिक भएको बयान दिएका थिए । नेपालस्थित टर्कीको र ग्रिसको कन्सुलेटले उनीहरू आफ्ना नागरिक नभएको पुष्टि गरेपछि अध्यागमनले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।

बारम्बार बयान फेरेका उनीहरूले पछि इरानी भएको स्विकारेका थिए । उनीहरू इरानी भएको पुष्टि गर्न अध्यागमनलाई झन्डै अढाइ महिना लाग्यो ।

अध्यागमन विभागका अधिकृत अभिराम डाँगीले गृहको निर्णयअनुसार उनीहरूलाई आइतबार इरान फिर्ता पठाएको जानकारी दिए । उनी नेतृत्वको अनुसन्धान टोलीले नै उनीहरू इरानी भएको पुष्टि गराउन अथक प्रयास गरेका थियो ।

उनीहरूले नेपालको भिसा भारतमा ५०-५० युरोमा किनेको बयान दिएका थिए । बयान दिँदा बारम्बार कुरा फेरेका उनीहरूको शंकास्पद व्यवहारपछि अध्यागमनसमेत सशंकित बनेको थियो ।

बयानमा बारम्बार अनेकथरि कुरा गरेपछि अध्यागमनले ‘स्टेटलेस’का रूपमा उनीहरूलाई कारागार पठाउने तयारी गरेको थियो ।

कुरा फेर्न थालेपछि अध्यागमनले उनीहरूको एक्लाएक्लै बयान लिएको थियो । त्यसमा उनीहरूका छोरा अमिनले इरानी भएको स्विकारेका थिए ।

त्यसपछि अध्यागमनलाई उनीहरूविरुद्ध कारवाही अघि बढाउन सहज भएको थियो।

प्रतिकृया दिनुहोस