नाम मात्रको छात्रवृत्ति गण्डकी मेडिकल कलेजमा

Gandaki hospital lll

काठमाडौँ । पोखराको गण्डकी मेडिकल कलेजले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग कलेजले ‘इन्टर्न्सिप’ लगायत शुल्क उठाउने गरेको छ  । यस कलेजमा निःशुल्क छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग समेत रकम असुल्ने गरेको पाइएको छ ।

कलेजले एमबीबीएस ब्याच २०१५ का विद्यार्थीसँग १ लाख १७ हजार लिएकामा ब्याच २०१८ सँग १ लाख ५५ हजारसम्म असुलेको छ ।

‘इन्टर्न्सिप शुल्क भनेर १ लाख ९२ हजार मागिएको छ,’ ब्याच २०१८ की एक छात्राले भनिन्, ‘बढी पैसा माग्न थालेपछि आन्दोलनमा उत्रेका हौं  ।’

उनका अनुसार आन्तरिक परीक्षा शुल्क १ लाख, रजिस्ट्रेसन शुल्क ५० हजार र भर्ना शुल्कबापत ५ हजार उठाइएको हो  ।

उक्त ब्याचमा छात्रवृत्ति कोटाका १० जना छन् । छात्रवृत्तिमा पढ्ने विद्यार्थीसँग भर्ना शुल्क लिन पाइदैंन । आन्तरिक परीक्षा शुल्क र रजिस्ट्रेसन शुल्क पनि तोकिएभन्दा बढी हो ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीसँग लिने शुल्क आफूखुसी बढाउँदै लगेको ब्याच २०१५ का एक छात्रले बताए । उनले कलेजले आन्तरिक परीक्षा शुल्क भनेर ४० हजार लिएको बैंक भौचरसमेत देखाए ।

वार्षिक शुल्कबापत उनीहरू ६ हजार ५ सय रुपैयाँ बुझाउँछन् । वर्षमा ३ पटक आन्तरिक परीक्षा हुन्छ । वार्षिक शुल्कको तुलनामा आन्तरिक शुल्क ज्यादै बढी भएको उनको भनाइ छ ।

कलेजले ब्याच २०१६ मा छात्रवृत्तिमा अध्ययनरत ९ जनासँग १ लाख ८० हजारका दरले ‘इन्टर्न्सिप’ शुल्क लिएको थियो । त्यस्तै टीयु रजिस्ट्रेसनबापत ४५ हजार र वार्षिक शुल्क ९० हजार लिइएको कान्तिपुरलाई प्राप्त भौचरमा उल्लेख छ ।

कलेजको गाडी नै प्रयोग नगर्ने विद्यार्थीसँग पनि वार्षिक ४० हजारका दरले गाडीभाडा असुलेको देखिन्छ । ‘म होस्टल बस्दिनँ, कलेजको गाडी पनि चढदनँ, ट्राभल शुल्क भनेर ४० हजार दिँदै आएको छु,’ उनले भने ।

कुन शीर्षकमा कति शुल्क भनेर समेत कलेज प्रशासनले प्रस्ट नपारेको छात्रवृत्तिमा अध्ययनरत ६० भन्दा बढी विद्यार्थीको गुनासो छ ।

‘पहिलो वर्षको परीक्षा नहुँदै दोस्रो वर्षको पैसा माग्छन्,’ ती छात्रले भने, ‘पैसा नबुझाए परीक्षा दिन नपाउने भनेर डर देखाउँछन् ।’

यिनै विषयमा आपत्ति जनाउँदै विद्यार्थी एक महिनादेखि आन्दोलित छन् । पढाइ ठप्प छ । शिक्षा मन्त्रालयले छात्रवृत्तिका विद्यार्थीसँग भर्ना, शैक्षिक, पुस्तकालय, प्रयोगशाला शुल्क लिन नपाइने जनाएको छ ।

रजिस्ट्रेसन र परीक्षा शुल्क पनि विश्वविद्यालयले तोकेअनुसार मात्र लिन पाइन्छ । यस्ता विद्यार्थीलाई रकम दिन बाध्य पार्न नपाइने मन्त्रालयले कलेजलाई लेखेको पत्रमा उल्लेख छ ।

कलेजमा स्वास्थ्यसम्बन्धी ८ विषयमा ६ सय विद्यार्थी पढ्छन् । छात्रवृत्तिबाहेकका विद्यार्थीसँग पनि इन्टर्न्सिप, रजिस्ट्रेसन, त्रिवि, सुरक्षा, स्वास्थ्य परीक्षण, विद्यार्थी कल्याण, आन्तरिक परीक्षा, खेलकुद शीर्षकमा लाखौं बढी रकम लिइएको छ । त्रिवि चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान डिनको कार्यालयका अनुसार विद्यार्थीसँग यस्ता शीर्षकमा शुल्क लिन पाइँदैन ।

नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले समेत कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको औंल्याएको छ ।

काउन्सिल सदस्य विश्व दवाडीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । काउन्सिलका सदस्य कालुसिंह खत्री र सुनील साह सदस्य थिए ।

समितिले छानबिन प्रतिवेदन बुझाएको छ । ‘ठूलो रकम अनियमितता गरेर लिएको भेटिएको छ,’ खत्रीले भने, ‘कलेजलाई कारबाही गर्नुपर्छ ।’ शिक्षा मन्त्रालयले समेत कलेजले अवैध शुल्क लिएको विषयमा चासो देखाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कलेजलाई प्रशासनमार्फत आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन् ।

उनले सहउपकुलपतिको हैसियतले छानबिन गरी कारबाही अघि बढाउन त्रिविलाई निर्देशनसमेत दिएका छन् । विद्यार्थीले मन्त्रालयमा उजुरी दिएको उच्चशिक्षा महाशाखाका सहसचिव हरि लम्सालले जानकारी दिए ।

त्यस्तै त्रिवि अनुगमन निर्देशनालयको टोली छानबिन सकेर फर्केको छ । निर्देशनालय उपनिर्देशक ओमप्रसाद बराल संयोजकत्वको टोली प्रतिवेदन बुझाउने तयारीमा छ ।

विद्यार्थीले भने उक्त टोलीमाथि नै आंशका गरेका छन् । ‘कलेजको गाडी चढेर अनुगमनमा आउनुभएको थियो,’ ब्याच २०१५ मा एमबीबीएस अध्ययरत परिवर्तन भाटले कान्तिपुरसित भने, ‘कलेजका पदाधिकारीलाई पोखराको बाराही होटलमा गोप्य रूपमा भेटेर गए ।’

टोलीले विद्यार्थीलाई झुक्याई प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा अधिकृत युवराज शर्मासहित पदाधिकारीलाई होटलमा भेटेको उनीहरूको आरोप छ ।

‘तिमीहरू पढ्न आएको कि आन्दोलन गर्न आएको भनेर हामीलाई उल्टै गाली गरे । हाम्रो कुरा धेरै सुनेनन्,’ उनले भने । संयोजक बरालले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरिएको प्रतिक्रिया दिए ।

टोलीमा निर्देशनालयकै बाबुराम दाहाल र पुष्कर रैखौला सदस्य थिए । ‘दुवै पक्षबाट कागजपत्र लिएका छौं,’ बरालले भने, ‘त्यही आधारमा रिपोर्ट दिन्छौं ।’

कलेज सञ्चालक खुमा अर्यालले भने विश्वविद्यालयको नियमभिक्रै रहेर शुल्क लिएको दाबी गर्दै आएका छन् । छानबिन त्रममा त्रुटि भेटिए कारबाही भोग्न तयार रहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...