उत्तर कोरिया र अमेरिकाबीचको वार्ता असफल

P27

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुचर्चित वार्ता विफल भएको छ ।

बिहीबार भियतनामको राजधानी हनोइमा भएको वार्तामा दुवै पक्षले आशातित सफलता पाउन सकेनन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले दुई नेताको वार्ताबाट कुनै साझा समझदारी बन्न नसकेकोे जनाएको छ ।

‘यसपटक कुनै समझदारी भएन । तर, उनीहरुको आ–आफ्ना टिमले भविष्यमा बैठकका लागि प्रयास गर्ने’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरको भनाइ छ ।

‘राष्ट्रपति ट्रम्प र चेयरम्यान किमबीच भियतनामको हनोइमा फेबु्रअरी २७ र २८ मा अत्यन्त राम्रो र सिर्जनात्मक छलफल भएको’ पनि सेन्डरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दुई नेताबीचको छलफलमा आणविक निःशस्त्रीकरण र आर्थिक एजेन्डामा छलफल भएपनि कुनै निष्कर्षमा भने नपुगेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

वार्ताकै लागि उत्तर कोरियाली नेता किमले ४ हजार किलोमिटर रेलको यात्रा गरेर भियतनाम पुगेपनि परिणाम भने हात लागेन ।

अमेरिकाले आफ्नो प्रतिस्पर्धी मुलुक उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएको छ ।

उत्तर कोरिया भने अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आणविक कार्यक्रम जारी राख्ने मनस्थितिमा छ ।

यसअघि, गत जुनमा ट्रम्प र किमबीच सिंगापुरमा पहिलोपटक ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसबेला किमले आफ्नो आणविक कार्यक्रम रोक्नसक्ने प्रतिबद्धता जनाएपनि समय भने उल्लेख गरेका थिएनन् ।

उत्तर कोरियाली आणविक कार्यक्रमबाट उसका छिमेकी मुलुकहरु दक्षिण कोरिया र जापान त्रस्त छन् ।

उसो त उत्तर कोरियाले अमेरिकामै मार हान्नसक्ने हतियार विकास गरेको पनि दाबी गरेको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...