हिमपातले उपत्यकासहित देशभर बढ्यो चिसो, आइतबारसम्मै कायम रहने

Snow fall ktm

काठमाडौं । बुधबारदेखि मौसममा खरावी आउँदा फेरि उपत्यकालगायत देहभर चिसो बढेको छ । बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमपात पनि परेको छ ।

काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा हिउँ परेको छ । साँखु, दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । अधिकांश क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको बदली तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परेको मौसमविद सुजन सुवेदीले जानकारी दिए ।

उच्च पहाडी क्षेत्र तथा काठमाडौँ उपत्यकाका आसपासका चन्द्रागिरीसहितका क्षेत्रमा हिउँ परेको उनले बताएका छन् । भक्तपुरको दुवाकोट, बालकोटसहितका क्षेत्रमा हिउँ परेको छ । बुटललसहितका क्षेत्रमा असिना पानी परेको छ ।

बुधबार पनि उपत्यकासहित देशभरका विभिन्न ठाउँमा वर्षा भएको थियो । केही ठाउँमा असिना परेको थियो भने मनाङ, मुस्ताङमा हिमपात नै परेको थियो । हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ ।

विगत वर्षहरुमा भन्दा यो वर्ष हिउँदमा तुलनात्मक रुपमा बढी पानी परिरहेको छ । शनिबार राति भित्रिएको पश्चिमी वायुका कारण देशभर बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी आइतबारसम्म जारी रहने महाशाखाले जनाएको छ ।

प्रसान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्षा भएको मौसमविद्हरुले बताएका छन् । जाडो मौसममा पश्चिमी वायु चल्दा समुन्द्रवरिपरि औसतभन्दा कम तातो भएर जलवाष्पलाई ठेल्दै इरान, पाकिस्तान, जम्मु कास्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमविदहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस