हेलिकोप्टर दुर्घटना : ‘उड्न सक्दिनँ, केही समय पर्खौँ’ भने लगतै...

Helicopter 2567574

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो ।

जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए ।

डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

काठमाडौंबाट पाइलट प्रभाकर केसीले बिहान ८ बजे ७ जनाको टोलीलाई लिएर तेह्रथुमको चुहानडाँडाका लागि प्रस्थान गरेका थिए । चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न उक्त टोली गएको हो ।

निरीक्षण गरेर टोली ताप्लेजुङको पाथिभरा मन्दिर पुग्यो । उनीहरुले त्यहाँ दर्शन गरे र काठमाडौं फर्कने तयारी थाले । तर मौसम निकै खराब थियो ।

हिमपात समेत परेकाले चालक केसीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टावरलाई सम्पर्क गरी ‘तत्काल पाथिभराबाट उड्न सक्दिनँ, केही समय पर्खौं र हेरौं’ भनेर जानकारी गराएका थिए ।

एक्कासि दिँउसो २ बजेतिर मात्रै हेलिकोप्टर हराएको सूचना टावरले पाएको थियो । तर, हेलिकोप्टरले कतिखेर पाथिभराबाट उडान भरेको थियो भन्ने विमानस्थल टावरलाई सूचना थिएन ।

ताप्लेजुङमा बिहानैदेखि कुहिरो लागिरहेको र पानी पनि परिरहेको छ ।

उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र पाइलट केसीको निधन भएको छ ।

प्रतिकृया दिनुहोस