मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा

Pslghvorepte7etafepl

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान कोलम्बियाको सीमावर्ती शहर कुकुटा पुगेको छ । भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदोको आग्रहमा अमेरिकाले मानवीयता सहायता पठाएको हो ।

नेता गुइदोले फेब्रुअरी २३ देखि स्वयम्सेवकहरुको सहयोगमा ती सामग्री भेनेजुएला लगिने बताएका छन् । अमेरिकी सहयोग नियोगका प्रशसक मार्क ग्रिनले भेनेजुएलामा देखिएको मानवीय संकट समाधानका लागि विपक्षी नेताको आग्रहमा ती सामग्री दिइएको बताए ।

उनले बालबालिकाहरु भोकभोकै पर्ने अवस्था आएको र अस्पतालहरुमा औषधि अभाव हुन थालेपछि आफूहरुले मानवीय सहायता उपलब्ध गराएको बताए । भेनेजुएलाका ३० लाख नागरिक खाना र औषधिको खोजी गर्दै छिमेकी मुलुकमा पुगेको दाबीसमेत उनले गरे ।

भेनेजुएलाका विपक्षी नेता गुइदोका प्रतिनिधिले ब्राजिल र क्यारेबियन मुलुकहरुका सीमा क्षेत्रमा पनि सहयोग संकलनका बारेमा छलफल गरिने बताए । यही हप्ताभित्र ब्राजिलको सरकारसँग पनि सीमा क्षेत्रमा राहतका सामग्री राख्नेबारे वार्ता गरिने उनको भनाइ थियो ।

विपक्षी नेताले राहत संकलनका लागि विभिन्न प्रयास गरेको भए पनि राष्ट्रपति निकोलस मदुरोको विरोधका कारण ती सामग्री भेनेजुएलामा पुग्छन् भन्ने यकिन भने छैन । अमेरिकासहितका पश्चिमा मुलुकहरुले दिएको कुनै पनि सहयोग नलिने घोषणा राष्ट्रपति मदुरोले गरेका छन । (एजेन्सी)

प्रतिकृया दिनुहोस