नयाँ मिसाइल प्रणाली विकास गर्ने तयारीमा रुस

South korea koreas 759

मस्को । शीतयुद्धका बेला अमेरिकासँग गरिएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धिबाट बाहिरिने घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली विकास गर्ने तयारी सुरु गरेको छ ।

रुसका रक्षामन्त्री सर्गेइ सोयगूले आगामी दुई वर्षभित्र जमिनबाट जमिनमै मार हान्ने नयाँ मिसाइल बनाउने तयारी भइरहेको बताए । उनले रुससँग मिसाइल भएको र त्यसलाई नयाँ प्रणालीका रुपमा विकसित गरिने जानकारी दिए ।

रक्षामन्त्री सोयगूले अमेरिकाले पहिलेदेखि नै आईएनएफ सन्धि उल्लंघन गरिरहेको आरोप लगाए । अमेरिकाले ५ सय किलोमिटरभन्दा लामो दुरीसम्म मार हान्न सक्ने मिसाइल बनाइरहेको उनको आरोप थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो रक्षा मन्त्रालयलाई सोही अनुसारको काम गर्न निर्देशन दिइसकेको उनको भनाइ थियो । रुसले नयाँ मिसाइल प्रणाली विकसित गर्न लागेकोबारे अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

गत हप्ता राष्ट्रपति डोनल्ड ट्रम्पले सन्धिबाट बाहिरिने घोषणा गरेपछि रुसले पनि आफूमात्र सन्धि मान्न बाध्य हुनुनपर्ने भन्दै त्यसबाट बाहिरिएको थियो । शीत युद्धका क्रममा भएको परमाणु हतियारसँग सम्बन्धित यो सन्धि तोडिनुलाई परमाणु निसस्त्रीकरणमा ठूलो झट्का मानिएको छ ।

सन् १९८७ मा तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोभाचोभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सन्धिमा हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस