अत्यधिक चिसोका लागि ‘ग्लोबल वार्मिङ’ कसरी जिम्मेवार

Aa

काठमाडाैं । सम्भवत: यो पदावली 'ग्लोबल वार्मिङ' कै कारण मानिसहरू भ्रममा पर्छन् । त्यसैले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतका मानिसहरूले भनिरहेका छन्, "नत्र अहिले यस्तो ज्यानमारा जाडो किन भइरहेको छ ?"

'ग्लोबल वार्मिङ'को अर्थ संसारभरि सधैँभरि गर्मी मात्र भइरहन्छ भन्ने होइन । त्यो शब्दावलीको अर्थ यस्तो छ - पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ र त्यसले मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ । अहिले मध्यपश्चिम अमेरिकाले भोगिरहेको अत्यधिक चिसो त्यसको एउटा उदाहरण हुन सक्छ । अस्ट्रेलियाका केही भागमा बढेको अत्यधिक गर्मी र अफ्रिकाको सहेल क्षेत्रमा भइरहेको खडेरी र सुख्खा त्यसको अर्को उदाहरण हुन सक्छ ।

तातिरहेको आर्क्टिक क्षेत्र
अहिले अत्यधिक चिसोका कारण अमेरिकाको मध्यपश्चिम क्षेत्रका नगरहरू ठप्प हुने अवस्थामा पुग्नुभन्दा धेरै पहिले नै जलवायु वैज्ञानिकहरूले यस्तो हुन सक्ने भविष्यवाणी गरिसकेका थिए । विभिन्न अध्ययनहरूमा उनीहरूले आर्क्टिक क्षेत्र तातिरहेकोले अहिलेको अवस्था उत्पन्न हुने उल्लेख गरिसकेका छन् ।त्यस्तो तातोले बरफविहीन समुद्रलाई धेरै तातो फ्याँक्न प्रेरित गर्छ । त्यसले आर्क्टिक क्षेत्र माथि चिसो हावा बहने क्रमलाई कमजोर तुल्याइदिन्छ र त्यो दक्षिणतिर बहन थाल्छ । "आर्क्टिक क्षेत्र चिसो हुने अवस्थामा भन्दा त्यो क्षेत्र तातो हुँदा सो क्षेत्रको दक्षिणतिर चिसो मौसम र ठूलो हिमपात हुने क्रम बढी हुन्छ," गत वर्ष नेचर कम्युनिकेशन्समा प्रकाशित अध्ययन भन्छ ।

अहिले अमेरिकामा देखिएको 'पोलार भोर्टेक्स्' भनिने ध्रुवीय सिरेटो दक्षिणतिर धकेलिइरहेकोबारे यसअघि पनि विभिन्न अध्ययनहरूमा उल्लेख गरिएको थियो ।

अपूरो विज्ञान
तर केही अध्ययनहरूले 'पोलार भोर्टेक्स्'मा देखिएका विचलनको पछाडिको विज्ञान अझै पूर्ण हुन नसकेको देखाएका छन् । "हिउँदमा हावाको बहाव र जमिनको तापक्रममा 'पोलार भोर्टेक्स्'को भूमिका हुने भए पनि हालैका चिसो हुने क्रमको गहन विश्लेषण हुन बाँकी नै छ," सन् २०१७ मा अमेरिकी मौसमविद्हरूको समाजले भन्यो ।

बढ्दो तापक्रमले गर्मीलाई झनै विकराल बनाउने गरेको पुष्टि भइसकेको एनिलिया विश्वविद्यालयको जलवायु अनुसन्धान एकाइमा बेन वेबरले बताए । उनले बीबीसीसँग भने, "त्यसले अहिलेको जस्तो चिसो अवस्थालाई झनै विकराल बनाइदिएको हुन सक्छ । तर यो थप अध्ययनको विषय हो ।" 'ग्लोबल वार्मिङ'ले चरम मौसमी अवस्थाहरू सिर्जना गरिदन्छ भन्ने सिद्धान्तमा दुई मत नहोला ।

तर वैज्ञानिकहरूका अनुसार अन्य विभिन्न कारणले पनि मौसमलाई प्रभावित तुल्याइदिने गरेको छ । जस्तो कि एल निनो भनिने मौसमी अवस्था। त्यो चाहिँ मध्यपूर्वी भूमध्यसागरीय प्रशान्त क्षेत्र तातो हुँदा उत्पन्न हुने गरेको छ । एल निनोको असरलाई वैज्ञानिकहरू विश्व तापमानमा भएको वृद्धिका कारण भएको हो भन्दैनन् । बीबीसीबाट

 

प्रतिकृया दिनुहोस