यस हप्ता अमेरिकामा अन्टार्टिका भन्दा चिसो हुने

Chiso

काठमाडौं ।  यस हप्ता अमेरिकाको सिकागो दक्षिणी महादेश अन्टार्टिका भन्दा चिसो हुने मौसम विद्हरुले चेतावनी दिएका छन् । यसरी ‘पोलार भर्टेक्स’ नामक अहिलेको धुव्रिय हुरीले तापक्रमलाई –५३ डिग्री सम्म कम गराउन सक्ने बताइएको छ ।

यस्तोमा सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् । यसरी अमेरिकामा ५ करोड ५० लाख जनताले शून्य भन्दा कम तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

अझ मध्यपश्चिमस्थित विसकन्सिन, मिचिगेन र इलिअन्स अनि दक्षिणतर्फ अल्बामा र मिसिसीपीमा त अत्याधिक चिसोका कारण संकटकाल समेत घोषणा गरिएको छ ।

त्यस्तै इलिनिओस सहरको तापक्रम पनि –३३ डिग्री भन्दा कम रहने बताइएको छ भने चिसो हावा –४६ डिग्री सरह महसुस हुने चेतावनी दिइएको छ । यस्तोमा राष्ट्रिय मौसम सेवाका मौसमविद् जोन गगनले यस हावाको तिव्रतालाई ‘एक पुस्तामा एक पटक आउने चिसो’ का रुपमा व्याख्या गरेका हुन् ।

यता यसबारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको टिप्पणी पनि निकै चर्चामा आइरहेको छ । ‘मानवीय क्रियाकलापका कारण जलवायु परिवर्तन भइरहेको’ भन्ने तथ्यलाई नकार्दै आएका ट्रम्पले हालको चिसो मौसमबाट राहत पाउन ‘ग्लोबल वार्मिङ’ आवश्यक रहेको भनि विवादास्पद ट्वीट गरेका हुन् ।

उनको सो भनाइलाई सामाजिक संजालमा हास्यास्पद ठहर गर्र्दै धेरैले ट्रोल बनाइरहेका छन् । उता चिसोको प्रभावले सिकागोमा लुटपाट बढेको पुलिस अधिकारीहरुले जनाएका छन् । त्यस्तै एट्लान्टा र जोर्जियामा १,१०० उडान अवरुद्ध भएको पनि बताइएको छ ।

विमानको सिसाबाट हिउँ हटाउन छरिने तरल पदार्थ ‘डी–आइसर’ समेत जमेको बताइएको छ । त्यस्तै मध्यपश्चिममा भने हजारौँ व्यवसाय, स्कुल र सरकारी कार्यालय समेत बन्द गरिएका छन् । यस्तोमा घरविहिन मानिसहरुका लागि ठाउँठाउँमा आपत्कालीन स्थल निर्माण गरिएको छ ।

त्यस्तै यो मौसममा मानिसको छाला पाँच मिनेट हावाको सम्पर्कमा आएमा पनि ‘फ्रस्टबाइट’ (हिँउले छाला खाने) हुने खतरा रहेको चेतावनी दिइएको छ । हालसम्म चिसोका कारण तीनजनाको मृत्यु भइसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस