के तपाईलाई पुदीना मन पर्छ ? यस्ता छन् यसका फाइदाहरु

Pudina

काठमाडौं । नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ ।

यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। दुई दर्जन जात र सयौं प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ । 

धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन्। तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन् । 

पाचन प्रक्रियामा सहयोगी
पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ । विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ । 

टाउको दुखाई निको पार्छ
पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ । पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ । पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ । गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ । 

श्वासप्रश्वासको समस्या हुन दिँदैन
यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन । दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ । यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन् । 

दम निको पार्छ
पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ । तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न । 

दूध चुसाइरहेका महिलालाई उपयोगी
दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ । 

डिप्रेसन र थकान घटाउँछ

यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ । यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन् । सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ । 

छालाको हेरचाह
यो राम्रो एन्टिसेप्टिक पनि हो । यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ । यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ । 

स्मरणशक्ति बढाउँछ
हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थियो । पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन् । 

यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन् । 

प्रतिकृया दिनुहोस