इलामेली बुद्धिजीवीको निष्कर्ष : अनशन ‘अनुचित’

Dr.govinada kc

इलाम । आमरण अनशनरत प्रा.डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उनको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’ को प्रदर्शन गर्न नहुनेमा जोड दिएका छन् ।

प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयकमा विगतका सहमति शतप्रतिशत समावेश हुनुपर्नेलगायत माग राखी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राडा केसीले इलाम सदरमुकामको एक निजी घरमा गत पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् ।

इलाममै केसीको अनशनलाई अनशनकै माध्यमबाट चुनौती दिँदै काठमाडौंका २७ वर्षीय युवा विजय थापा पनि गत पुस २७ गतेदेखि आमरण अनशनमा बसको छन् ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार बिहान इलाम जिल्ला अस्पतालमा सारिएको छ । उनको अनशन अब अस्पतालबाटै जारी रहने छ । ‘अलिकति उहाँ विचलित भएको हो कि जस्तो लाग्छ, एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई नै बन्धक बनाउने अडान राख्नु हुँदैन’, इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष पराजुली भन्छन्, ‘विधिको शासनको हिसाबले उहाँको नियतमाथि प्रश्न उठेको छ ।’

प्रा. पराजुलीले ‘अनशन बस्दा सरकार झुकिहाल्छ’ भन्ने हठी सोचको परिणाम नै थापाको अनशन भएको तर्क राखे । ‘सबै माग पूरा हुनुपर्छ भन्नु अराजक हुनु हो’, प्रा. पराजुली भन्छन्, ‘दुबै अनशनकारी उस्तै–उस्तै प्रवृत्तिको पृष्ठपोषक भएको छ । विधिको शासनमा संसद्को निर्णय सरकारले पनि मान्नुपर्छ ।’

इलाम उच्च अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष सुधीर बोहोरा माग पूरा भएनन् भनेर अनशन बस्दै जाने केसीको प्रवृत्ति ‘अलोकतान्त्रिक हठ’ भएको बताउँछन् । ‘उहाँको अनशनले कानूनी राज्यको लोकतान्त्रिक अवधारणामाथि नै चुनौती खडा गरेको छ’, बोहोरा भन्छन्, ‘माग पूरा भएनन् भने अरुले कानूनी निकायमा जानुपर्ने र डा. केसीले चाहिँ अनशन बस्दा माग पूरा भइहाल्ने कुरा कानूनको उपहास हो ।’

सरकारी कर्मचारी भएर अनशनमा बसिरहँदा कस्तो सन्देश गइरहेको छ भन्ने केसीले बुझ्नुपर्ने बोहोराको भनाइ छ । उनले अर्का अनशनकारी थापाको अनशन केसीको हठका विरुद्ध अर्को हठको प्रदर्शन भएको टिप्पणी गरे ।

इलामकी अधिकारकर्मी भूमिका आचार्य प्राडा केसीको अनशनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राजनीतिक स्वार्थ मिसिएको बताउँछिन् । ‘सत्ता र विपक्षीको राजनीतिक प्रतिष्पर्धा स्वाभाविक हुन्छ, तर यसरी अनशनको माध्यमबाट राजनीति गर्नु हुँदैनथ्यो’ उनी भन्छिन्, ‘केसीको समर्थनमा निकालिएका सबै जुलुस र ¥यालीमा काङ्ग्रेसका जिल्ला कमिटीका कार्यकर्ताको सहभागिता हामीले देखिरहेका छौँ ।’

‘माग जायज थियो भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सुशील कोइराला र डा बाबुराम भट्टराईकै पालामा सरकारले पूरा गरिहाल्थ्यो नि’ अधिकारकर्मी आचार्य भन्छिन् । अस्पतालमा हड्ताल गराएर आम नागरिकलाई दुःख कष्ट दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ । 

प्रतिकृया दिनुहोस