प्रचण्ड भन्छन्, क्यान्सरले कोही मर्नु नपरोस्

Prachanda bhakrapur

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपन्नको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताएका छन् । प्रचण्डले गरिब तथा विपन्न क्यान्सर बिरामीलाई दिइँदै आएको उपचार अनुदान पाँच लाख पुर्‍याइने पनि बताएका छन् ।

नेपाल अर्बुदरोग निवारण संस्थाको २८ औं केन्द्रीय सभाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले क्यान्सर उपचार महंगो भएकाले अनुदान रकम पनि बढाउनुपर्ने बताए ।

‘क्यान्सर जस्तो महंगो उपचार गर्न एकलाख अपुग छ, अध्यक्ष प्रचण्डले भने, ‘उपचार अनुदान पाँच लाख पुर्‍याउनुपर्छ । यहींअनुसार व्यवस्था गर्न म पहल गर्छु’ प्रचण्डले भने, ‘क्यान्सर नबुझ्दा धेरैले दुःख पाउने गरेका छन् । त्यसैले क्यान्सरबारे बुझाउन जनचेतना फैलाउनुपर्छ। क्यान्सर बुझेपछि उपचारमा जाँदा पीडा महशुस हुने छैन ।’

आफ्नी आमा र छोरीलाई क्यान्सरकै कारण गुमाउनुपरेको सुनाउँदै उनले क्यान्सरबारे सबै जनतालाई बुझाउनुपर्नेमा जोड दिए । उनले क्यान्सर उपचार गर्दा मान्छे पनि सकिने र पैसा पनि सिद्धिने क्रमको अन्त्यको लागि सरकारले अनुदान रकम बढाउनुपर्ने धारणा राखे ।

प्रचण्डले संविधानमै आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनिएकाले त्यसको प्रत्याभूतिका लागि सर्वसाधारण अदालत जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लाग्नुपर्ने बताए । प्रचण्डले नेपालको संविधानले आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारमा समेटेको बताए । उनले भने, ‘कसैले आधारभूत शिक्षा र स्वास्थ्य पाएनन् र उनी अदालत गए सरकार दोषी हुन्छ। त्यसैले कोही यसको लागि कोही अदालत जान नपरोस् ।’

नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले संस्थाले अहिलेसम्मका प्रत्येक सरकारसमक्ष क्यान्सरको निःशुल्क उपचार गर्न माग गर्दै आएको बताए । तत्काल निःशुल्क गर्न नसकिए कम्तीमा बिरामीलाई दिइँदै आएको अनुदान रकम पाँच लाख पुर्‍याउन माग गर्दै आएको उनले स्पष्ट पारे ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले पनि क्यान्सर उपचारमा सरकारले दिँदै आएको एकलाख अनुदान न्यून भएको बताए ।
संस्थाका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी कर्ण शाक्य, पूर्वअध्यक्ष दिवाकर राजकर्णिकार लगायतले क्यान्सर उपचार गर्न विदेश जाने परम्पराको अन्त्य गर्न राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री र ठूला नेताहरुले स्वदेशमै उपचार गर्ने संस्कार र संस्कृतिको विकास गर्नुपर्ने बताएका थिए ।

सो साधारण सभामा क्यान्सर रोग र यसको उपचारको क्षेत्रमा अतुलनीय सहयोग गर्नेहरु संस्थाका पूर्वअध्यक्ष कर्ण शाक्य, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठ, यतिकेम समूहका प्रभुराज वैद्य लगायतलाई पूर्वप्रधानमन्त्री प्रचण्डले सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...