प्रम ओलीलाई छाती संक्रमणको खतरा, आराम गर्न चिकित्सकको सुझाव

Kpoli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि आराम गर्न चिकित्सकले सुझाएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दीलिप शर्माका अनुसार चिसो बढेसँगै रुघाखोकीले प्रधानमन्त्री ओलीलाई सताएको छ ।

‘भिडभाड र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न भनिएको हो,’ उनले भने, ‘एक/दुई दिन आराम गरेपछि उहाँको स्वास्थ्यमा सुधार आउनेछ ।’

यता, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको उनको सचिवालयले जनाएको छ । प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी रुघाखोकी र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहेका ओलीको ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा सुधार भइरहेको उल्लेख गरेका छन् ।

सो प्रेस नोटमा आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने उल्लेख गरिएको छ ।

यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ । अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

प्रतिकृया दिनुहोस