बलात्कारको रिपोर्ट गलत दिने डाक्टर कारवाहीको दायरामा आउलान् त ?

Janakpur hospital

काठमाडौं । पछिल्ला केही समययत बालिका बलात्कारका घटना बढिरहेका छन् । कुनै महिला बलात्कृत भए त्यसको भरपर्दाे प्रमाण भनेकै मेडिकल रिपोर्ट हो । तर, रिपोर्ट नै गलत बनाइए के हुन्छ ?

धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिएको पाइएको छ । बालिका बलात्कृत भएको रिपोर्ट गलत दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो ।

महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले सो घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने चिकित्सकलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ ।

समन्वय समितिले जनकपुर अञ्चल अस्पतालका डाक्टर सिंह र गोइतले गम्भीर लापरबाही गर्दै अनुसन्धानको काम प्रभावित बनाएको ठहर गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलको अध्यक्षतामा गठित समितिमा गृहसचिव, कानुनसचिव, स्वास्थ्यसचिव लगायत सदस्य छन्। समितिको सोमबार बसेको बैठकले गलत रिपोर्ट दिने दिने डाक्टरलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बालिकाका बुबा रोजगारीको सिलसिलामा भारत गएका र आमा नभएका बेला धनुषा जनकनन्दनी गाउँपालिका २ का करण मण्डलले स्थानीय एक बालिकालाई बलात्कार गरेको मुद्दा जिल्ला अदालत धनुषामा दर्ता भएको थियो । मुद्दा दर्तापछि प्रहरीले अनुसन्धान गरी दायर गरेको अभियोगपत्र गलत ठहर गर्नेगरी डाक्टरद्वयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएका थिए ।

गत भदौ ८ मा बालिकामाथि बलात्कृत भएपछि बालिकाको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा संलग्न सिंह र गोइतले बलात्कार नभएको रिपोर्ट दिएका थिए । तर, फेरि बालिकाका पुनः सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिँदा सिरहा अस्पतालले बालिकामाथि बलात्कार भएको रिपोर्ट दिएको थियो ।

प्रतिकृया दिनुहोस