मुटु दिवसमा नर्भिकको घोषणाः एक सय शैयाको छुट्टै एशियाकै उत्कृष्ट भवन बनाउने

Nravik

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष बसन्तकुमार चौधरीले अस्पतालमा १०० शैयाको नयाँ भवन थप्ने घोषणा गरेका छन् । विश्व मुटु दिवस २०१८ समारोहमा नर्भिकका अध्यक्ष चौधरीले १०० शैयायुक्त अति विशिष्ट नयाँ भवन बनाई नर्भिकलाई दक्षिण–पूर्वी एशियाकै सर्वोत्कृष्ट मध्येको एक बनाउने उद्घोष गरेका हुन् ।

नर्भिकले छिट्टै अति विशिष्ट क्रायो सेवा लगायत छुट्टै कोलो–रेक्टल शल्यक्रिया सेवा पनि सुरु गर्ने भएको छ । समारोहमा विकट स्थानहरुमा र आपतकालीन अवस्थामा प्रयोग हुने हेली रेस्क्यु टोली गठनको जानकारी समेत गराइएको थियो ।

समारोहका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपाली स्वास्थ्यसेवाका क्षेत्रमा परिवर्तन आवश्यक भएको भन्दै सरकारले निःशुल्क उपलब्ध गराइरहेको डायलाइसिस लगायतका सेवाहरु निजीमा पनि विस्तार गनुपर्ने र नेपाली स्वास्थ्य सेवाको स्तरलाई उकास्न निजी क्षेत्रका हस्पिटलहरुसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताए ।

नर्भिकले विविध कार्यक्रमका साथ शनिबार यस वर्षको विश्व मुटु दिवस मनाएको छ । यस वर्षको विश्व मुटु दिवस असोज १३ गते शनिबारका दिन अर्थात् आजैका दिन पर्न गएको छ ।

विश्व मुटु महासंघको आह््वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारीख यो दिवस मनाइन्छ । सन् २००० को सेप्टेम्बर २४ तारीखदेखि मनाउन थालिएको यस दिवसले झण्डै २ दशकलाई स्पर्श गर्न गइरहेको छ ।

नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लाष्टी, प्राइमरी एन्जियोप्लाष्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लाष्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (वाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका करिब २०० जना बिरामीहरु मध्ये १० जना जेष्ठ नागरिकहरूलाई सम्मान पनि गरिएको थियो ।

यस वर्षको विश्व मुटु दिवसका अवसरमा पनि नर्भिकले “विशेष मुटु जा“च योजना” नामक एक विशेष मुटुजाँच कार्यक्रमको तय गरेको थियो । उक्त जाँच कार्यक्रम अन्तर्गत विशेषज्ञबाट निशुल्क जाँचका साथ निदानात्मक जाँचहरु र परामर्श सेवा रहेका थिए ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुटुरोगबारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु÷गराउनु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु नै यस दिवसको मुख्य उद्देश्य रहिआएको छ ।
सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, ज्यादा मोटोपना, शारीरिक निस्क्रियता वा विलासपूर्ण जीवनशैलीका कारण विश्वभर नै अझ पनि मानिसहरु यसको चपेटामा पर्दैआएका छन् र मुटुरोगका बिरामीहरू बढ्दै गइरहेका छन् ।

अझ हालै आएर विकासोन्मुख राष्ट्रहरूमा हाल विश्वमा १ करोड ७५ लाखभन्दा बढी मानिसहरूले प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि शहरी जनसंख्याको झण्डै ७ देखि ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन् ।

प्रतिकृया दिनुहोस