यसरी दिनदिनै भयाभह बन्दैछ मुटु रोग, १ वर्षमै २ करोडको मृत्यु

Mutu rog

काठमाडौं । जसरी पछिल्लो समय मुटु रोग बढ्दै गएको छ, त्यसरी नै युवा उमेरमा नै मुटु रोगको सिकार बन्नेहरूको संख्या पनि बढ्दै गएको छ । गंगालाल अस्पतालमा २० देखि ५० वर्ष बीचका मानिस उपचार गर्न आउनेको संख्या पनि बढ्दै गएको छ । आव २०७३/०७४ मा एक लाख २५ हजार ७ सय ५४ जनाले मुटुरोगसम्बन्धी उपचार गरेका थिए ।

गंगालाल अस्पतालको तथ्यांक हेर्ने हो भने पनि युवामा मुटुरोग बढ्दै गएको देखिन्छ । सबैभन्दा धेरै मुटुरोगको शिकार पुरुषहरू भएको तथ्यांकमा देखिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा मुटु र मुटुसम्बन्धी रोगका कारण प्रत्येक वर्ष एक करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको छ ।

विश्वमा ५० प्रतिशत मानिसलाई केही न केही प्रकारको मुटुरोग भएको तथ्यांक छ । बिरामी भएर मृत्यु हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु मुटुरोगकै कारणले भएको पाइएको छ ।

पहिले सरुवा रोगका कारण धेरै मानिसको मृत्यु भएको पाइन्थ्यो । तर, अहिले यस्ता जटिल प्रकारका नसर्ने रोगहरूका कारणले मानिसले अकालमा मृत्युवरण गर्न बाध्य छन् ।

बदलिँदो जीवनशैली र खानपान पछिल्लो समय मुटुरोग बढ्दै जानुको मुख्य कारण हो । धुम्रपान, मद्यपान, कोलेस्ट्रोल, ब्लड प्रेसर बढ्नुलगायत पनि यसका कारक हुन् ।

महँगो उपचार, उपचार पहुँच नभएकाले पनि मानिसको अकालमा मृत्यु हुने गरको छ । थाइराइड, सुगर, बढ्दो मोटोपन पनि मुटुरोग बढ्दै जानुका कारण रहेको चिकित्सक बताउँछन् । पछिल्लो समय जसरी मानिसको जीवनशैली र खानपान बढेको छ, यसले मानिसलाई मोटोपनादेखि उच्चरक्तचाप बढाइरहेको छ । यो नै युवाहरूमा मुटुरोग देखिनुको मुख्य कारण हो ।

यी हुन् मुटु रोगका लक्षण
सकेसम्म रोग लागेर उपचार खोज्नुभन्दा रोग नै लाग्न नदिन सचेत हुनुपर्छ । हरेक मानिसले मुटुरोगबाट बच्नका लागि आफ्नो दैनिक जीवनयापनको शैली र खानपानमा ध्यान दिनुपर्ने र नियमित व्यायाम र खानपानमा मात्र ध्यान दिने हो भने मुटुरोगबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ ।

छाती दुख्ने, ढक्क फूलेजस्तो वा भारी हुने, मुटु ढुकढुक हुने, शरीर र खुट्टा सुन्निने, धेरै थकान महसुस हुने, श्वास फेर्न अप्ठ्यारो हुने, हातखुट्टा झमझमाउने लगायत लक्षण देखिन्छन् ।

यस्तो छ बच्ने उपाय
धेरै बोसो भएको र रातो मासु कम खाने साथै मधुमेह, उच्च रक्तचाप र मोटोपन भएका मानिसहरूमा मुटुरोगको जोखिम उच्च हुन्छ । त्यसै कारण पनि मानिसले नियमित रूपमा चिकित्सकसँग परामर्श गरी चेकजाँच गराउने बानीको विकास गर्नुपर्छ ।

जटिल प्रकारको दीर्घरोग भएकाले मुटु रोग लाग्नुभन्दा लाग्नै नदिन राम्रो हुन्छ । मुटुरोग लागेपछि महँगो र लामो समयसम्म उपचार गर्नुपर्ने र एक पटक मुटुरोग लागेपछि पूर्ण रूपमा निको हुने सम्भावना अत्यन्त कम हुने भएकाले र बाँचुञ्जेलसम्म पनि औषधिको प्रयोग गर्नुपर्ने भएकाले मुटुरोग लाग्न दिनुभन्दा यसबाट बच्नका लागि पूर्वसावधानी अपनाउनु नै उत्तम विकल्प हुने विशेषज्ञहरू बताउँछन् ।

-नियमित शारीरिक व्यायाम गर्ने

-मदिरा र धुम्रपान सेवन नगर्ने

-चिल्लो र नुनिलो खानेकुरा कम खाने

-रक्तचापलाई नियन्त्रणमा राख्ने

-शरीरमा कोलेस्ट्रोरोल नियन्त्रण गर्ने

-तौल नियन्त्रण गरी मोटोपन बढ्न नदिने

-तनावबाट आफूलाई टाढा राख्ने

प्रतिकृया दिनुहोस