राजधानी सार्दा तनाव : धनगढी अनिश्चितकालीन बन्द

Dhangadhi

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ ।

बन्दको प्रभाव शनिबार बिहानैबाट परेको छ । बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । बन्दकर्ताले जिल्ला भित्रिने गाडी आउन दिएका छन् तर, धनगढीबाट बाहिरिने गाडी ठप्प छ । मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् ।

उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् । धनगढी बजार भने बन्द छ ।

बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ(ठाउँमा परिचालन गरिएको छ ।

प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।

आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’

प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् ।

प्रतिकृया दिनुहोस