दसैँमा गाडी अभाव हुने संकेत ! फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह

Yatayatold bus park

काठमाडौं । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्या हुने भएको छ ।

विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलपातीपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । उनले फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातीअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् ।

‘फुर्सद हुनेहरू पहिल्यै गइदिनुभयो भने पछिलाई चाप कम हुन्छ, सहज रूपमा जान पनि पाउनुहुन्छ,’ उपाध्यायले भने, ‘अध्ययन–अध्यापन गर्ने–गराउनेहरूको छिटो छुट्टी हुने भएकाले चाँडो घर गइदिन हाम्रो अनुरोध छ ।’

यो वर्ष दसैँका लागि नयाँ बस नथपिने उनले बताए । सरकारले सिन्डिकेट खारेज गरेपछि असन्तुष्ट व्यवसायीले नयाँ गाडी नथपेका हुन् । यसअघि विभागले व्यवसायीले नयाँ बस नथपे विद्यालयका बस चलाएर भए पनि यात्रुलाई सुविधा दिने बताएको थियो । तर, अहिले उनले यो प्रयास सफल हुन नसकेको बताए ।

दिउँसो चलेका गाडी राति पनि चलाउँछौँ  सरोज सिटौला, महासचिव यातायात व्यवसायी राष्ट्रिय महासंघ

अहिले अब नयाँ गाडी थप्न सक्ने अवस्था छैन । तर, हामी भएकै गाडी चलाएर यात्रु ओसार्छौँ । दिउँसो यात्रु बोकेर गएका गाडी राति नै फर्किन्छन् र भोलिपल्ट फेरि यात्रु बोकेर जान्छन् । राति यात्रु लिएर छुटेका बस पनि दिउँसो नै फर्किन्छन् र फेरि बोक्छन् ।

प्रतिकृया दिनुहोस