गाउलेले बनाए ‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नारा

No

पर्वत । सभ्य समाज निर्माण गर्ने उद्देश्यले जाँडरक्सी, जुवातास र गाँजा मुक्त एक विकट वडालाई बनाइने भएको छ ।

पर्वतका महाशिला गाउँपालिका– ३ बालाकोटलाई मदिरा र जुवातासमुक्त वडा बनाउन लागिएको हो । आगामी असोज १ गते गाँजा, जाँडरक्सी र जुवातासमुक्त घोषणा गर्ने गरी तयारी भइरहेको वडाध्यक्ष रोशन गुरुङले जानकारी दिए ।

‘गाँजा, रक्सी, जुवातास, गर्छ यसले सर्वनास’ भन्ने मूल नाराका साथ गाउँमा यस्ता पदार्थ बिक्री वितरण तथा उत्पादन र सेवनमा रोक लगाउन अहिले गाउँका सबै टोलमा जनचेतना जगाउने काम भइरहेको छ । प्रत्येक घरधुरीमा पुगेर अवैधरूपमा मदिरा उत्पादन, सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको छ । पहिलो चरणमा सबै नागरिकसम्म जनचेतना फैलाउने र नियन्त्रण भएपछि सो घोषणा गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

सामाजिक विकृति तथा हिंसाका घटना अन्त्य गर्नका लागि स्थानीय प्रहरी चौकी र वडा कार्यालयको संयोजनमा पूर्णरूपमा मादक पदार्थ तथा जुवा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

पुरै बालाकोटबासी सक्रिय भएको यो अभियानमा महाशिला गाउँपालिकाले पनि सहयोग गर्ने भएको छ । समाजमा जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने गाउँपालिकाकाअध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ‘गाउँपालिकाअन्तर्गतका छ वटै वडामा यो अभियान चलाइने छ ।’

जनजातिको बाहुल्यता रहेको यो वडामा घरेलु मदिरा उत्पादन तथा सेवनबाट घरेलु हिंसा र अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान थालिएको स्थानीयको भनाइ छ । वडाध्यक्षको संयोजकत्वमा अहिले घरदैलो अभियान थालिएको छ । अभियानमा स्थानीयबासीले पनि सहभागिता जनाएका र सबै वडाबासी सकारात्मक देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस