अस्पतालको बिल तिर्न नसक्दा बिरामी ‘बन्धक’

Grandee hospital

काठमाडौं । चितवन राप्ती नगरपालिका भण्डाराका रमेश हुमागाईं ११ जेठमा मोटरसाइकल दुर्घटनामा परे ।

भण्डारामै ट्रकले ठक्कर दिएर गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पताल ल्याइयो । उपचारका क्रममा उनको एउटा गोडामा स्टिल राखिएको छ भने अर्को गोडा काटेरै फाल्नुप-यो । करिब १७ लाख बिल उठेपछि रमेशको उपचार सकिएको छ ।

तर, पैसा तिर्न नसकेपछि उनी घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च आफूले तिर्न नसक्नु र यातायात व्यवसायी समितिले पनि नतिरिदिँदा उनी अस्पतालमै बन्दी बनेका छन्।

उनका दाइ अर्जुन अहिले भाइलाई अस्पतालबाट कसरी छुटाउने भन्ने चिन्तामा छन् । ‘अस्पतालका मान्छे उपचार खर्च नपाई कसरी घर पठाउने भन्छन्,’ अर्जुनले भने, ‘उपचार सकिएर पनि दुई सातादेखि अस्पतालमै छौँ, अस्पतालले कहिले घर जान दिन्छ अझै ठेगान छैन।’

पीडितले ट्रकआबद्ध रहेको नारायणी यातायात व्यवसायी समितिसँग पनि उपचार खर्च बेहोरिदिन आग्रह गरे । तर, समितिले अहिलेसम्म कुनै तदारुकता देखाएको छैन ।

भाइ रमेश डिप्रेसनमा जाने हो कि भन्ने चिन्ता अर्जुनलाई छ । ‘कसलाई भन्ने, कहाँ गएर गुहार गर्ने केही थाहा छैन,’ उनले भने, ‘अस्पतालले दिनहु“ बोलाएर उपचार खर्च तिर्न दबाब दिइरहेको छ ।’

२९ असारमा काठमाडौंको लैनचौरस्थित मल्ल होटेलअगाडि काभ्रेस्थलीकी सीता ढकाल चढेको स्कुटरलाई यात्रुबाहक बसले ठक्कर दियो । स्कुटरको पछाडि बसेकी ५० वर्षीया सीता घाइते भइन् । उनलाई पनि उपचारका लागि ग्रान्डी अस्पताल पु-याइयो ।

तर, उपचारमा खर्च भएको करिब साढे १६ लाख तिर्न नसकेपछि उनी घर फर्किन पाएकी छैनन् ।

‘हिजो नै घर जाने कुरा थियो, तर समितिले पैसा नतिरिदिँदा जान पाएनौँ,’ घाइतेका छोरा रूपक ढकालले दुःख बिसाए, ‘पेमेन्ट गर भनेर अस्पतालले १० दिनअघिदेखि भन्दै आएको छ, तर मेरो हैसियत सरकारी अस्पतालमै लगेर आमाको उपचार गर्न सक्ने पनि छैन । धन्न ग्रान्डीले आमालाई त बचाइदियो, तर खुसी भएर घर फर्किन पाएका छैनौँ ।’

सीता चढेको स्कुटरलाई बालाजु बस व्यवसायी समितिमा आबद्ध यात्रुबसले ठक्कर दिएको थियो ।

प्रतिकृया दिनुहोस