जोखिम मोलेर किन गर्छन् महिलाले गर्भपतन ? यस्तो छ कारण

Garva patan

काठमाडौं । गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुने गर्छ । कसैको बच्चा सानो भएको, कसैको सन्तानको रहर पुगिसकेको त कसैको छोराछोरी हुर्किसकेर ठूला भइसकेको, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणहरुले गर्दा गर्भपतन गराउनु पर्ने हुनसक्छ ।

वाध्यता र असावधानी

गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ति सुरक्षित विधि हुन् । अहिले औषधी सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

गर्भनिरोधक साधन असफल भएर रहेको गर्भ तथा सामाजिक मर्यादा तोडेर रहेको गर्भ पनि कतिपले फाल्ने गर्दछन् । तर यसमा असावधानी अपनाउँदा ज्यानै जाने खतरा हुन्छ ।

तीन हजार बढी गर्भपतन सेवा

नेपालमा गर्भवती महिलाको इच्छाले गर्भपतन गर्न पाउने कानुनी मान्यता सन् २००२ मा प्राप्त भयो । सन् २००४ मा नेपालभर गर्भपतन सेवा म्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात प्लाष्टिकमा क्यानुलाद्वारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवामा विस्तार गरियो ।

सन् २००९ मा औषधीले गरिने गर्भपतन सेवा (मेडिकल एबोर्सन( एम.ए.) पनि शुरु गरियो । परिवार महाशाखाको पछिल्लो तथ्यांक अनुसार हाल देशभरकै जिल्लामा गरेर ३ हजारभन्दा बढी गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् ।

यी दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा पनि उपलब्ध छन् ।

कानुनी मापदण्ड के छ ?

गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।

राम्रो कुरा के छ भने, यस्ता सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांक छ ।

गर्भपतन गराउने तरिका

विश्व बजारमा वर्षौंदेखि गर्भपतनका औषधीहरु प्रयोग गरिँदै आएपनि नेपालमा यो भित्रिएको धेरै भएको छैन । नेपालमा पनि आईपास, पी.एस.आई. नेपाल, परिवार महाशाखा लगायतले ६ वटा जिल्लामा गरेको सफल परीक्षण पछि मात्र भित्र्याइएको थियो ।

नेपालमा अपनाइएको पद्दती अनुसार एकथरि औषधी मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्म अर्कोथरिको औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । सजिलो र घरमा पनि प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगकर्ता बढीरहेका छन् ।

अत्यन्त प्रभावकारी मानिने यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधी करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ(गाउँसम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ । सोही लक्ष्य अनुरुप स्वास्थ्य चौकीसम्म यो सेवा बढाइएको छ ।

गर्भपतन कसले गराउन पाउँछ ?

गर्भ राख्न नचाहने १६ वर्ष पार गरेकी मानसिक सन्तुलन ठीक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्तासम्मको गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । औषधीहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । निजी तर सूचीकृत संस्थामा यसको मूल्य तिर्नुपर्छ ।

यो औषधी पसलमा सोझै खाने औषधी होइन । १६ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट गर्भपतनको औषधी सेवन गर्नु गैरकानुनी मात्र होइन घातक पनि हुन सक्छ ।

किन हुन्छ अत्याधिक रक्तश्राव ?

मेडिकल एबोर्सन (औषधिद्वारा गरिने गर्भपतन) ६३ दिनसम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यसका केही साइड इफेक्टहरु पनि छन् । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केही रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परामर्शको आवश्यकता नपर्न सक्छ ।

तर, अत्यधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनीमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्वारा गरिएका मेडिकल एबोर्सनमा यस्ता गम्भीर असरहरु प्रायः देखिँदैन ।

यद्यपी अस्पतालहरुमा यस्ता विरामी घटेका छैनन्, कारण हो अनाधिकृत रुपमा औषधी सेवन ।

औषधी पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधीहरु बिक्री वितरण गर्न नपाउने नियम छ । तर केही औषधी पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतीय बजारबाट ल्याएका कमसल वा औषधीहरु बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

औषधीद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे (अल्ट्रासाउण्ड) गर्नुपर्ने मान्यता छ । मेडिकल एबोर्सनका लागि अर्को महत्वपूर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन भनेर परीक्षण गर्नु ।

समान्यतया औषधी सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुँदैमा पूर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै समयसम्म अत्याधिक रक्तश्राव जोखिमपूर्ण हुन सक्छ ।

यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितिलाई परीक्षण नगरी एम.ए. अर्थात मेडिकल एबोर्सन गर्नु खतरनाक पनि हुन सक्छ ।

यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार र्पुयाउनु पर्छ । पहिलेको गर्भ तथा प्रसूति सम्बन्धी समस्याहरु, अन्य दीर्घरोगहरु, बिभिन्न स्वास्थ्य समस्याका लागि औषधीहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा गर्भपतनको औषधी सेवन गर्नु हुँदैन ।

समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरेको गर्भपतन सुरक्षित हुन्छ भनेर भन्न सकिँदैन र यसबारे समयमा नै सचेत हुन आवश्यक छ । त्यस कारणले गर्दा पैसा र समय बचाउन तथा गोपनियताको लागि सम्बन्धित स्वास्थ्य केन्द्रमा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन, ज्यानै पनि जान सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

यसको विकल्प छैन ?

गर्भपतन (औषधि तथा एमभीए) सुरक्षित हुँदाहुँदै पनि यो अन्तिम विकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।

सबै दम्पत्तिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफूलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ त्यसबारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर छनोट गर्नु राम्रो हो ।

परिवारको आकार पूरा भएपछि वा सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यात्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस