विशाल बजारको पार्किङ टेण्डरमा चलखेल, कागजात नपुगेकालाई जिम्मा लगाउने तयारी

Bisal bajar

काठमाडौं । आवश्यक कागजात नपुगेकालाई विशाल बजार कम्पनी लिमिटेडले पार्किङको टेण्डर स्वीकृत गर्न लागेको छ ।

कम्पनीले साउन ११ मा सूचना जारी गरी साउन २५ सम्मको लागि टेण्डर आव्हान गरेको थियो । सोहीअनुसार ९ वटा कम्पनीले फारम भरेका थिए । २६ गते टेण्डर खोल्ने भनिए पनि शनिबार परेकाले आइतबार टेण्डर खुलाइएको थियो ।

केही ठूला कम्पनीले धेरै रकम कबोल गरेका छन् । तर, आवश्यक न्यूनतम रकमभन्दा दोब्बरमा बोलपत्र भरेका ती ठूला कम्पनीहरुले आवश्यक कागजात बुझाएका छैनन् । ठूला कम्पनीहरुले आवश्यक कागजपत्र नबुझाउँदा अहिलेसम्म विशाल बजारले कसैलाई पनि ठेक्का दिन सकेको छैन ।

विशाल बजार कम्पनी लिमिटेडले पार्किङ सञ्चालनका लागि सबैभन्दा बढी उज्ज्वल निर्माण सेवाले २ करोड ४६ लाख बोलपत्र भरेको छ । त्यसैगरी सोनी ट्रेडिङले २ करोड २१ लाख, सर्व नेपाल प्रालिले १ करोड ८७ लाख २० हजार, ईज्जा ट्रेडिङ प्रालिले १ करोड ८५ हजार बोलपत्र भरेको छ ।

चुणराज कन्स्ट्रक्सनले भने रुपैंया खाली राखेको छ । तत्व इन्भेष्मेन्ट प्रालिले १ करोड ८० लाख, बिकास निर्माण सेवाले १ लाख ३८ हजार ६६ हजार ६ सय ५०, अवाले विल्डर्सले १ करोड ८१ लाख ८९ हजार ८ सय ४०, सोनी सप्लायर्सले १ करोड ५१ लाख ९९ हजार ९ सय ९९ रुपैंयाको बोलपत्र भरेका छन् ।

विशाल बजारले भने २ वर्षको लागि कम्तिमा पनि १ करोड २७ लाखमा नघट्ने गरी टेण्डर भर्न सूचना गरिएको थियो । पार्किङको क्षेत्रफल ३० हजार ३ सय ७ फुट रहेको छ ।

कम्पनीमा ३४ प्रतिशत सर्वसाधारणको र बाँकी नेशनल ट्रेडिङ र नेपाल खाद्य संस्थानको शेयर रहेको छ । हाल पार्किङ शुल्क उठाइरहेको श्री मल्टी वर्थ इन्भेष्टमेन्ट प्रालिले भने पुनः बोलपत्र भरेको छैन ।

असार अन्तिममा करार अवधि सकिएपनि यसलाई नियमअनुसार १ महिना थप गरिएको छ । २ वर्षको लागि श्री मल्टी वर्थ इन्भेष्टमेन्टले २ वर्षको लागि १ करोड ५ लाख ६० हजारमा लिएको थियो ।

आवश्यक न्यूनतम रकमभन्दा दोब्बरमा बोलपत्र भरेका कम्पनीहरुले आवश्यक कागजात बुझाइनसकेको भन्दै आलोचना भएको छ । ‘आवश्यक कागजात नपुगेकालाई विशाल बजारको पार्किङ जिम्मा लगाउन खोजिएको छ, जति पैसा आएपनि प्रक्रिया नपुगेकालाई दिनु अवैध हो’ स्रोतले भन्यो, ‘भदौ १ गतेबाट नयाँलाई जिम्मा लगाउनुपर्ने हुन्छ तर अहिलेसम्म अलमल गर्नुमा केही स्वार्थ देखिन्छ ।’

विशाल बजार लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलिपजंग शाहले टेण्डरमाथि छानबिन भइरहेको बताए । उनले कागजात नपुगेका टेण्डरलाई समितिले स्वीकृत नगर्ने बताए । ‘निवेदन आए भन्दैमा स्वीकृत हुँदैन’ उनले भने, ‘प्रक्रिया नपु¥याएकाले मान्यता पाउँदैनन् ।’ उनले १ साताभित्रै निर्णय हुने बताए ।

प्रतिकृया दिनुहोस