परनिर्भरता हटाउन निजगढ विमानस्थलमा निजी लगानी

Nijgadh nepal bara airport

काठमाडौं । सरकारले ठुला परियोजनामा विदेशी लगानी ल्याउँदा परनिर्भरता बढ्ने भन्दै निजी क्षेत्रको लगानीमा जोड दिने नीति लिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रको लगानी ल्याउन प्रारम्भिक गृहकार्य सुरु गरिएको बताएका हुन् ।

संसदको अर्थ समिति बैठकमा मन्त्री खतिवडाले विदेशी सहायतामाथिको परनिर्भरता हटाउन निजी क्षेत्रको लागानी नै विकल्प हुने बताए । दातृ निकायबाट लिइने सहायताले सरकारलाई दायित्व थप्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराएरै ठूला आयोजना बनाउन सरकारले जोड दिने खतिवडाले उल्लेख गरे ।

उनले ठूला आयोजनाहरुमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विभिन्न मोडालिटी विकल्पमा निजी क्षेत्रको सहभागिता पनि एक रहेको जानकारी दिए। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कसरी बनाउने भनेर पर्यटन मन्त्रालयसँग छलफल अघि बढेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उनले जलविद्युत लगायतका परियोजनामा सकेसम्म निजी क्षेत्रकै पुँजी परिचालन गर्नुपर्ने उल्लेख गरे । खतिवडाले ठूला परियोजनामा सरकारले लगानी गरिरहेको उदाहरणहरु दिँदै निजगढ विमानस्थलमा निजी क्षेत्रकै लगानी आकषिर्त गर्ने उल्लेख गरे । 

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भइसकेको छ । अब विमानस्थल निर्माणका लागि मोडालिटी टुंगो लाग्न बाँकी छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले पदबाहली गरेकै दिन एक महिनाभित्र निर्माणको मोडालिटी टुंग्याउने निर्णयमा हस्ताक्षर गरेका थिए । तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस