डाक्टरको लापरवाहीले बिरामीको ज्यान गए जन्मकैद, अंगभंग भए १५ वर्ष कैद

Doctor

काठमाडौ‌ । डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ । अंगभंग भएमा १५ वर्ष कैद बस्नुपर्नेछ ।

यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

उपचारमा हुने लापरबाहीका घटनामाथि गम्भीर बन्दै सरकारले मुलुकी संहिता ऐनमार्फत यस्तो व्यवस्था लागू गरेको हो ।

सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् ।

नेपाल चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् । कानुन नसच्याए सेवा छाडेर घरमा बस्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

नेपाल चिकित्सक संघका महासचिव अर्जुन कार्कीले भने, ‘एकातिर हामी ‘जेल उइदाउट वेल’ को कुरा गरिरहेका छौँ । अर्कोतर्फ सरकारले त्यस विषयलाई भुलेर दायाँबायाँ हुना साथ जन्मकैद सजाय दिने कानुन ल्याएको छ । त्यो चिकित्सकलाई मान्य हुनेछैन ।’

मुलुकी ऐनमा उल्लेख भएअनुसार चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुनबमोजिम अधिकार प्राप्त अधिकारीबाट उपचार गर्न इजाजत प्राप्त गरेको व्यक्तिबाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, चिरफार गर्न कुनै पनि प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न पाइने छैन ।

तर, लामो अनुभवबाट उपचारसम्बन्धी राम्रो जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा भने बाधा पुग्ने छैन ।

प्रतिकृया दिनुहोस