सिक्टा सिँचाइको अनियमितता अख्तियारद्वारा छानबिन सुरु

Sikta nahar

काठमाडौ‌ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ ।

सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने। ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ।

‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ ।

राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने डिजाइनअनुसार नहर बनाइएको भए पनि ५ क्युमेक्स पानी पठाउँदा नै भत्केपछि गुणस्तर कमजोर भएको प्रस्टिएको छ ।

सिक्टाको ४५ किलोमिटर मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको थियो । सिक्टाको विषयमा यसअघि पनि अनियमितताबारे उजुरी परेको थियो ।

त्यति बेला अख्तियारले छानबिन निष्कर्षमा नपु-याई बीचमै छाडेको थियो। पुराना फाइलसमेत एकीकृत गरेर अघि बढ्न समितिलाई अधिकार दिएको प्रवक्ता दंगालले बताए ।

दुई वर्षअघि परीक्षण क्रममा भत्किएको मूल नहर मर्मत गरिएको थियो। सो नहर पुनः गत साउन ७ गते परीक्षण गर्दा भत्किएको छ। आयोजनाका तत्कालीन उच्च अधिकारी र ठेकेदार कम्पनीको मिलेमतोमा निर्माण कम्पनी कानुनी दायरामा आउन सकेको छैन । अनियमितता विषयमा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि बिहीबार छानबिन समिति गठन गरेको छ ।

राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने डिजाइनअनुसार नहर बनाइएको भए पनि ५ क्युमेक्स पानी पठाउँदा नै भत्केपछि गुणस्तर कमजोर भएको पुष्टि भएको हो । कर्मचारी घुलनशील माटो प्रयोग गरिएका कारण नहर भत्कने गरेको बताउँछन् । (नागरिक)

प्रतिकृया दिनुहोस