मानिक सुत्केरी ब्यथाले छट्पटाइरहिन्, हेलिकोप्टर आकाशबाटै फर्कियो

Sutkeri lina n

काठमाडौं । पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिक नेपालीलाई दुई दिनदेखि सुत्केरी ब्यथाले च्यापेर गम्भीर बनेपछि उद्धारका लागि हेलिकोप्टर पूर्वी रुकुमतर्फ गयो ।

तर, सुत्केरीको उद्धार गर्न गएको हेलिकोप्टर खराब मौसमका कारण सदरमुकाम फर्कियो । हेलिकोप्टर पर्खेर बसेका बिरामी र आफन्त हेरेको हेर्यै भए ।

सुत्केरीको उद्धार गर्न बुधबार साँझ नेपालगञ्जबाट त्यसतर्फ लागेको हेलीकोप्टर खराब मौसमका कारण सदरमुकाम रुकुमकोट फकिएको हो।

उद्धारका लागि हेलीकोप्टर आउने भएपछि सिकिस्त अवस्थामा रहेकी मानिकलाई हेलिप्याड छेउमा पु¥याएका आफन्तहरु भने निराश भएका छन्। ‘खराब मौसमका कारण हेलीकोप्टर विरामी भएको ठाउँसम्म पुग्न सकेन।

भर्खरै सदरमुकाममा अवतरण भएको छ’, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने, ‘विरामीको अवस्था चिन्ताजनक छ भन्ने सुनिएको छ। मौसममा सुधार हुनासाथ हामी उद्धारको कोशिस गर्नेछौँ।’

बच्चा जन्माउन नसकेर मानिकको ज्यानै जोखिममा परेपछि स्थानीय जनप्रतिनिधिले हेलीकोप्टरबाट उद्धारका लागि पहल गरिदिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग आग्रह गरेका थिए। उपराष्ट्रपतिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएपछि सुत्केरी महिलाको उद्धारका लागि गृह मन्त्रालयले हेलीकोप्टर पठाएको थियो।

स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएपछि मानिकलाई घरमै राखिएको थियो। ‘उहाँलाई हिजोदेखि बेथा लागे पनि बच्चा जन्माउन सक्नु भएन, उहाँको ज्यान नै जोखिममा प-यो,’ पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ का अध्यक्ष टोपबहादुर सेनले भने, ‘स्वास्थ्य चौकी लैजान पनि स्वास्थ्यकर्मी नै छैनन्, त्यही भएर उहाँको जीवन रक्षाका लागि हामीले उपराष्ट्रपतिज्यूमार्फत आग्रह ग-यौँ। हेलिकोप्टर आउँदैछ भन्ने सुनेका छौँ।’

प्रतिकृया दिनुहोस