नेपालमा विदेशी लगानी : भारतभन्दा साढे ७ गुणाले चीन अघि

Nepal inda chaina

काठमाडौं । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा दशकौंदेखि भारतीयको एकछत्र लगानी रहे पनि पछिल्ला वर्षहरुमा भने चिनियाँ लगानीले भारतलाई निकै पछाडि धकेलेको छ ।

उद्योग विभागका अनुसार गत २ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने चिनियाँ लगानी भारतीयको भन्दा साढे ७ गुणाले बढी छ । चीनबाट ५८ अर्बभन्दा बढी लगानी भित्रिँदा भारतबाट भने ७ अर्बमा सीमित छ ।

चीनको मेनल्याण्डबाट ५५ अर्ब ८ करोड र चीनकै हङकङबाट ३ अर्ब लगानी प्रतिबद्धता आएको छ भन् भारतबाट ७ अर्ब ८ करोड लगानी भित्रिएको छ । विभागका अनुसार चीन र भारतपछि सबैभन्दा बढी अमेरिकाबाट ३ अर्ब १ करोड, दक्षिण कोरियाबाट २ अर्ब ७ करोड रुपैयाँ बरावरको लगानी प्रतिबद्धता आएको छ ।

चीनबाट सिमेन्ट, खानी उत्खनन, होटल, रेष्टुरेन्ट, ऊर्जा, पर्यटन, साना तथा मझौला उद्योगमा लगानी बढी भित्रिएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका सहमति कार्यान्वयन हुने हो भने आगामी वर्ष चीनले लगानी अन्तर झनै फराकिलो पार्न सक्नेछ ।

गत दुई वर्षमा देशमा ७८ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष लगानीका लागि राम्रो नरहेपनि गत आर्थिक वर्षमा भने सन्तोषजनक रूपमा लगानीको प्रतिबद्धता आएको देखिन्छ । नेपालमा बेलायत, अस्ट्रेलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस