सेनाको नयाँ मिलिटरी अस्पतालमा सेवा सुरु

Military hospital

काठमाडौं । नेपाली सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । 

दाँतसम्बन्धी समस्याको सामान्य उपचार छाउनीमा हुने भए पनि उच्चस्तरीय उपचार भने नयाँ भवनमा हुने सेनाले जनाएको छ । यससँगै उक्त भवनमा आकस्मिक र बहिरंग सेवा पनि सञ्चालनमा आउने भएको छ । उक्त भवन सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको छ।

 प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाएका हुन्।

महाभूकम्पपछि उक्त भवनबाट प्रदान गरिंदै आएको स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द भएको थियो।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा नै यसलाई उपयोग गर्ने क्षत्रीले बताए । अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ।

आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उक्त भवनबाट उपलब्ध हुने जनाइएको छ।

ऐतिहासिक सम्पदाका रूपमा रहेको उक्त अस्पतालको पुरानो स्वरूपमै अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको बताउँदै क्षत्रीले भने, ‘छाउनी अस्पतालमा बिरामीको चापलाई यसले घटाउने छ।’

उनले भविष्यमा सर्वसाधारण नागरिकलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने योजना रहेको बताए । रुक्मांगद कटवाल प्रधानसेनापति हुँदैदेखि छलफलमा आएको भए पनि यसको निर्णय गौरवशमशेर राणाको पालमा भएको हो ।

पहिलो विश्वयुद्धबाट प्रभावित नेपाली सैनिकको उपचार र स्वास्थ्य सेवाका लागि बेलायतले १९८२ सालमा उक्त अस्पताल निर्माण गरिदिएको हो ।
भवन जमिनमाथि सात तला र अन्डरग्राउन्ड दुई तला पार्किङ गरी नौ तलामा समेटिएको छ ।

प्रतिकृया दिनुहोस