टोखा नगरपालिकालाई काठमाडौं महानगरले दियो एक करोड

Tokha na pa

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोखा नगरपालिकालाई टोखास्थित झोरमा बालमैत्री उद्यान निर्माणका लागि १ करोड आर्थिक सहायता उपलब्ध गराएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलाई सो उद्यान निर्माणका लागि १ करोडको चेक बुधबार हस्तान्तरण गरे । काठमाडौं महानगरपालिकाको ‘नगर–नगर साझेदारी कार्यक्रम’ अन्तरगत टोखा नगरपालिकालाई सो सहायता उपलब्ध गराइएको महानगरपालिकाका मेयर शाक्यले स्पष्ट पारे ।

टोखा नगरपालिकाका मेयर अधिकारीले टोखा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न उद्यान निर्माण कार्य अघि बढाइएको बताए । उनले उद्यान निर्माणका लागि महानगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा बौडेश्वर गुरुयोजना अन्तरगत बालमैत्री उद्यान निर्माण गर्न लागिएको हो । ३ वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो उद्यान निर्माणका लागि करिव ४ करोड ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ । नगरका मेयर अधिकारीले उद्यान निर्माणका लागि अन्य क्षेत्रबाट पनि सहयोग हुने विश्वास व्यक्त गरे। झोरस्थित झोर झरना र सँगै रहेको बौडेश्वर महादेव क्षेत्रलाई सांस्कृतिक पर्यटक क्षेत्रको रुपमा विकास गर्ने टोखा नगरपालिकाको योजना छ ।

प्रतिकृया दिनुहोस