दिनदिनै ओरालो लाग्न थाल्यो शेयर बजार, सम्बोधन गर्ला त मौद्रिक नीतिले ?

Serbazar 18

काठमाडौं । बामपन्थी सरकारले पहिलो बजेट प्रस्तुत गरेपछि शेयर बजारका लगानीकर्तामा आशा हराएको छ । जसका कारण दिनदिनै शेयर बजार ओरालो लागिरहेको छ ।

खासगरी बजेट लगत्तै लाभकरमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तामाथि डन्डा बर्साएपछि शेयर बजार ओरालो लागन थालेको थियो । सरकारले ‘विशेष’ रुपमा संवोधन नगरेसम्म लगानीकर्ताको ‘सातो’ फर्किने अवस्था पनि छैन ।

बैशाखमा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या हुँदाहुँदै जेठदेखि अनलाइन प्रणाली आउने, स्थायी सरकार आउने, बजेटले राम्रा नीति तथा कार्यक्रममार्फत अर्थतन्त्रलाई संवोधन गर्ने तथा बैंकको ब्याजदरको समस्याको अन्त्य हुने भन्ने किसिमका हल्लाले बजार उकालो लागेको थियो । तर अहिलेको अवस्थामा ति सबै कुरा नहुँदा बजार धान्ने किसिमको मनोबल सिर्जना नभएको शेयर विष्लेषकहरु बताउँछन् ।

निरन्तर घट्दै आएको शेयर बजार सोमबार पनि ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से सोमबार ४.८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले ओरालो लागेको छ ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार १२ बजेर २१ मिनेटसम्ममा १० अंकले तल झरेको थियो । बजार १२ बजेदेखि साँढे एक बजेसम्म स्थिर अवस्थामा रह्यो । साँढे एक बजेदेखि २ बजेर ८ मिनेटको अवधिमा बजार १० अंकले बाउन्स ब्याक भयो ।

२ बजेर २२ मिनेटसम्ममा २ अंकको सुधार देखिए पनि बजार टिक्न नसक्दा अन्तिमसम्मा ४.८२ अंकको गिरावटसँगै ११७९.७१ विन्दुमा रोकिएको छ ।

आज कूल १५९ कम्पनीको ६ लाख ७२ हजार १०३ कित्ता शेयर २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ ।

होटल २.२३ र विकास बैंक उपसमूह ३.७५ बिन्दुले बढेको हो । बैंकिङ ५.३४, जलविद्युत् १३.५९, फाइनान्स ३.०४, बीमा २१.४४, उत्पादन ०.१३, अन्य १.२१ र माइक्रोफाइनान्स ५.२४ बिन्दुले घटेको छ ।

आइतबार १४ अंकले गिरावट हुँदा १९ करोडमा खुम्चिएको बजार सोमबार भने केहि उतार चढावसँगै २० करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार होटल र विकास बैंकको उपसूचकमा केही सुधार देखिएको छ भने अन्य उपसूचक घटेका छन् ।

सोमबारसबैभन्दा धेरै ग्लोबल आइएमइ बैंकको १ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । उन्नती माइक्रो फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतले कमाउँदा रैराङ हाइड्रोपावर डेभलपमेन्ट शेयधनीले ७.३० प्रतिशतले गुमाएका छन् । आज १० वटा कम्पनीका शेयरधनीले मात्रै कमाएका छन् भने अन्यले गुमाएका छन् ।

शेयर बजारमा साना साना घटनाले पनि असर गर्न थालेको छ । बजार बढ्ने कुनै पनि बलियो आधार नहुँदा २५२ अंकको पेनिक फल देखिन्छ । सरकारको नीति तथा कार्यक्रमबाट उत्साहित नदेखिएका लगानीकर्ता नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पर्खाइमा छन् । मौद्रिक नीति आउँदै गर्दा पनि शेयर बजारलाई संबोधन हुने गरी नआउने भन्ने किसिमको हल्लाले लगानीकर्ताको मनोविज्ञान कमजोर देखिएको छ ।

प्रतिकृया दिनुहोस