बेतिथिको नमुना : पाँच दिनमै भत्कियो ढलान गरेको पुल

Dadeldhura bridge

डडेलधुरा । पक्की पुल पाँच दिन नपुग्दै भत्किन्छ भनेर कसैले कल्पना गर्दैन । तर, डडेल्धुरामा पाँच करोड रुपैयाँ लगानी गरेर बनाइएको पुल ढलान गरेको चौथो दिनमै भत्किएको छ ।

भागेश्वर गाउँपालिका–४, डुङ्गरी र अजयमेरु गाउँपालिका–५ को देवल दिव्यपुर जोड्न सेरागडमा निर्माणाधीन मोटरेबल पुल वर्षाका कारण भत्किएको हो ।

कूल ५ करोड एक लाख रुपैयाँमा डिभिजन सडक कार्यालय दीपायलले पुल निर्माणका लागि ०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रा।लिसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि एक वर्षको म्याद थपिएको थियो ।

०७४ भदौ २४ गते ठेक्का अवधि सकिएपछि ०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।

वर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय, डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।

देशभरिमै ख्यातिप्राप्त निर्माण कम्पनी भएकाले केही क्षति भएपनि पुल निर्माणमा बाधा नपुग्ने उनले दावी गरेका छन् । बिकोई बिल्र्डस प्रालिका सञ्चालक होमनाथ कोइराला सडक विभागकै पूर्व इन्जिनियर हुन् ।

‘सानोेतिनो पानी परिरहेकाले क्षति नपुग्ने अनुमान गरेर काम गरिरहेका थियौं,’ निर्माण कम्पनीका साइड इन्चार्ज इन्जिनियर तीर्थ गुरुङले भने, ‘एक्कासि ठूलो पानी परेपछि बाढीका कारण निर्माणाधीन पुल भत्किएको हो ।’

गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी वर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए ।

निर्माण सामग्रीको गुणस्तरबारे आफूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निर्माण कार्यमा लापरवाही गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

निर्माण कम्पनीले भने झण्डै एक करोड बराबर क्षति भए पनि अगामी मंसिरसम्म पुल निर्माण कार्य सक्नेगरी पुलको पुनर्निर्माण गरिने जनाएको छ । निर्माणाधीन पुलको क्षतिको विवरण भने तयार भएको छैन ।

४० मिटर लम्बाई र ११ मिटर चौडा पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...