बढ्न थाले सुर्तीजन्य पदार्थको सेवन गर्ने युवा

Cancer council

काठमाडौं । सुर्तीजन्य पदार्थको सेवन गर्ने युवायुवतीको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

एसियन पब्लिक स्कूल अनामनगरमा भएको अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्ला दिनमा युवा पुस्तामा बढ्दै गएको सुर्तीजन्य पदार्थको सेवन घातक बन्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन् ।

सो कार्यक्रमका सहभागीहरुले युवा पुस्तालाई सूर्तीजन्य पदार्थको सेवनबाट टाढा राख्न अभिभावक सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले परिवार तथा समाजको उपयुक्त रेखदेखको अभावले गर्दा युवायुवतीहरु किशोर अवस्थामै सुर्तीजन्य पदार्थबाट प्रभावित भएको पनि बताए ।

सो कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा, युवतीमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । अध्यक्ष कडरियाले युवा युवतीहरु सुर्तीजन्य पदार्थको लतमा फस्दै गएकाले त्यसबाट छुटकारा दिनुपर्ने कुरामा जोड दिए ।

वीर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाएको बताए ।

डा. पौडेलले जनचेतनाको कारण फ्रान्समा १ वर्षमा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको बताए । उनका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थका कारण २०–२५ हजार मानिसले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

सो कार्यक्रमा माछापुच्छ«े बैंकका सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डे, विद्यालयका प्रधानाध्यापक गगनसिंह ऐर लगायतले क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ रोकथामको लागि युवा पुस्तालाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस