अपहरण शैलीमा काठमाडौं ल्याइयो, वार्ताको पहल भएन

Kc

काठमाडौँ । सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई जवर्जस्ती अपहरणको शैलीमा काठमाडौं ल्यायो । तर, दुई दिन बितिसक्दा समेत वार्ताको कुनै पहल गरेको छैन ।

जुम्लामै २० दिनसम्म अनशनले गलेका उनलाई बल प्रयोग गरेर उठाइए पनि त्यसयता उनको स्वास्थ्य अवस्था कस्तो छ, थाह हुन सकेको छैन । डा. केसीले जुम्लामा भएको प्रहरी दमनको विरोधमा स्वास्थ्य परीक्षण समेत गर्न मानेका छैनन् ।

१५औं अनशनका लागि जुम्ला पुगेका केसीलाई बिहीबार सरकारले सैनिक हेलिकप्टरमा ल्याएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमै अनशनमा छन् ।

सरकारी पक्षले वार्ताको पहल नगरेको र कोही पनि सम्पर्कमा नआएको डा. केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले बताए । अनशन लम्बिँदै जाँदा केसीको स्वास्थ्यस्थिति थप जटिल बन्न सक्ने उनका सहयोगीले औंल्याएका छन् ।

सरकारले जुम्लामा दमन गरेको भन्दै केसीले विरोध जनाएका छन् । उनले औषधि लिन र स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् । बिहीबार रातिदेखि नै उनको रक्तचाप, मुटुको चाल, ईसीजी, स्याचुरेसनलगायत परीक्षण हुन सकेको छैन । जुम्लाका स्थानीयलाई दमन गरी सरकारले आफ्नो अपहरण गरेको भन्दै केसीले अविलम्ब छानबिनसहित दोषीमाथि कारबाही माग गरेका छन् । उनको अनशन शनिबार २२औं दिन पुगेको छ ।

२०६९ असार २१ मा पहिलोचोटि आमरण अनशन बसेका केसीको ११औं अनशन २३ दिनसम्म चलेको थियो ।

देउवा र राजपा नेताले भेटे कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगी डा। केसीलाई भेटेका छन् । उनले चिकित्सकहरूसँग केसीको स्वास्थ्यस्थितिबारे जानकारी पनि लिए । देउवाले केसीका मागप्रति पार्टीका तर्फबाट ऐक्यबद्घता जनाएका थिए । कांग्रेसले सरकारविरुद्ध आन्दोलन घोषणा गरिसकेको छ ।

नेविसंघले यसअघि केसीको पक्षमा राजधानीमा जुलुस निकालेको थियो । कांग्रेस नेता अर्जुननरसिंह केसी पनि डा। केसीलाई भेट्न अनशनस्थल पुगेका थिए । शुक्रबारै राजपा अध्यक्ष मण्डलका सदस्यहरू महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवले डा। केसीसँग भेटी मागप्रति ऐक्यबद्धता जनाए । अभिनेत्री मनीषा कोइरालाले पनि केसीलाई भेटी उनका मागमा समर्थन जनाएकी छन् ।

सत्तारूढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीका मागबारे पार्टीमा आन्तरिक छलफल भइरहेको बताए । ‘हाम्रो पहिलो प्राथमिकता उहाँको जीवनरक्षा थियो,’ उनले भने, ‘अब उहाँका मागबारे ठोस कुराकानी हुन्छ ।’ वार्ता सहज पार्न चिकित्सा शिक्षा विधेयक संसद्मा अघि बढाउने प्रक्रिया पनि ८र१० दिनका लागि पर सारिएको उनले बताए ।

‘गम्भीर भएरै सरकारले वार्ता टोली बनाएको हो । तर, सरकारी टोलीसँग कुरै हुन सक्दैन भन्ने केसीको अडानप्रति हाम्रो सहमति छैन,’ श्रेष्ठले भने । 

प्रतिकृया दिनुहोस