साविक भन्दा आधा सस्तो हुनुपर्ने इन्टरनेट तीन गुणा महङ्गो

Internet

काठमाडौं । इन्टरनेटको स्वभाविक मूल्य कायम गर्ने हो भने अहिलेभन्दा झण्डै आधा सस्तो मूल्यमा सर्वसाधारणले इन्टरनेट सेवा पाउन सक्छन् । तर, इन्टरनेटको सेवा प्रदायक कम्पनीहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरिरहेका छन् ।

नेटवर्क सेवा प्रदायकहरुले विदेशबाट इन्टरनेटको ब्याण्डविड्थ खरिद गर्दा औसत मूल्य प्रति महिना प्रति एमबीपिएस ०७४ जेठसम्म २२.८० डलर तिर्ने गरेका थिए भने गत जेठमा इन्टरनेट ४० प्रतिसत सस्तो भएपछि १३.६२ डलर तिर्ने गरेका थिए ।

यस हिसावले सेवा प्रदायकहरुले सस्तो हुनुअघि झण्डै आधा भन्दा बढी मूल्यमा इन्टरनेट सेवा बिक्री गर्दै आएका थिए । गत जेठमा इन्टरनेट ४० प्रतिसत सस्तो भएपनि उनीहरुले त्यस अनुसार मूल्य समायोजन गरेनन्, जसले गर्दा उनीहरुले गरेको खरिद भन्दा बिक्रीदर ३ गुणा महङ्गो हुन पुगेको थियो।

अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटसँगै इन्टरनेट सेवापनि सस्तो बनाउनु पर्नेमा आर्थिक बर्ष २०७५–०७६ को बजेटमा बृद्धि भएको इन्टरनेट करसँगै सेवा प्रदायकहरुले पनि मूल्यबृद्धि गरेका छन्। महङ्गो हुनुको कारण चाहिँ कर बृद्धि भन्दापनि अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन नहुनु नै रहेको जानकारहरु बताउँछन्।

जानकारी अनुसार इन्टरनेट सेवा प्रदायकहरुले अनुमति प्राप्त गर्दा दुरसञ्चार प्राधिकरणबाट पहिलो पटक विभिन्न स्पिड र प्याकेजका लागि स्वीकृति लिएका हुन्छन्। तर, सेवा बिक्री चाहिँ स्वीकृतिको मूल्यमा परिमार्जन गरी गर्ने गर्छन् तर परिमार्जित मूल्यको स्वीकृति भने लिने गरेका छैनन्।

अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटसँगै नेपालमा पनि मूल्य समायोजन गरिनुपर्नेमा आर्थिक बर्ष २०७५/०७६ को बजेटमा भएको करबृद्धिलाई आधार बनाउँदै मूल्य बृद्धि गरिएपछि इन्टरनेट सेवा प्रदायकहरुसँग सरकार कडाईका साथ प्रस्तुत हुने सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाएका छन् । मन्त्री बास्कोटाले सेवा प्रदायकहरुसँग दुई पटक मूल्य घटाउने सम्बन्धमा छलफल गरिसकेका छन्, तर मूल्य समायोजनन गर्न सेवा प्रदायक कम्पनीहरु सकारात्मक देखिएका छैनन् ।

प्रतिकृया दिनुहोस