बीपी राजमार्गमा गुड्न थाले ठुला सवारी, के होला राजमार्गको अवस्था ?

Bp rajmarg

काठमाडौ‌ं । ठुला मालबाहक ट्रक र यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको बीपी राजमार्गमा अदालतको आदेशसँगै ठुला सवारी साधन गुड्न थालेपछि राजमार्गको भविष्यलाई लिएर चिन्ता जाहेर गरिएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेशले बीपी राजमार्गमा ३२ सिटे बस र भारवहनसहित १६ टनसम्मका मालवाहक ट्रक सञ्चालनको बाटो खुलेको हो । बिहीबारबाट यात्रुवाहक बस र मालवाहक ट्रक गुड्न थालेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका यात्रुवाहक बस र १६ टन भारवहन क्षमताका मालवाहक सवारीसाधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

अदालतको आदेशपछि रुट परमिट भएका यात्रुवाहक बसलाई दिउँसो र मालवाहक ट्रक राति चलाउन खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ठूला गाडी चलाउन सकिने आदेश दिएको थियो। यसअघि सर्वोच्चकै न्यायाधीश सपना मल्ल प्रधानले जारी गरेको अन्तरिम आदेशमा १८ सिटसम्मको यात्रुवाहक बस र भारवहनसहित १० टनसम्मका ट्रक मात्र सञ्चालन गर्न सकिने फैसला आएको थियो।

बीपी यातायात सेवा समितिका कान्छामान वलसहितले यात्रुवाहक र मालवाहक सवारीसाधन बीपी राजमार्ग चल्न नदिँदा एकातिर व्यवसायी मर्कामा परेको र अर्कोतर्फ यात्रुले सास्ती व्यहोर्नुपरेको भन्दै अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै रिट दर्ता गरेका थिए।

न्यायाधीशद्वय खडका र खतिवडाले गरेको आदेशमा नेपाल सरकारले यातायात सञ्चालन, नियमित र व्यवस्थित गर्न आवश्यक प्रबन्ध मिलाउन सक्ने भएको र विवादित निर्णयमा तोकिएको सर्त र परिधिभित्र रही मापदण्ड पूरा गरेका सवारीसाधन चलाउन पाउने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख । आदेशमा सुविधा सन्तुलनका दृष्टिले जेठ २१ मा जारी अन्तरिम आदेश रद्द भएको भनिएको छ।

अन्तरिम आदेश रद्द भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार सवारीसाधन चल्न थालेपछि पूर्वी नेपाल तथा जिल्लाकै दूरदराजबाट यात्रुवाहक सवारी निर्वाध सञ्चालनमा आएका छन्।

सिन्धुलीमाढी–खुर्कोट खण्डमा सवारीसाधन चल्न पाउनुपर्ने माग राख्दै व्यवसायी पनि लगातार आन्दोलनमा थिए । अदालतको आदेशपछि मापदण्डका सवारीसाधन सुचारु गरिएको प्रजिअ ज्ञानप्रसाद ढकालले बताए ।

रुट परमिट भएका यात्रुवाहक तथा मालबाहक सवारीलाई मन्त्रालयले तोकेको मापदण्डअनुसार चल्न दिएको एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि दैनिक चेकिङको व्यवस्था गरी टाइम कार्डमा कडाइ गरिनेसमेत उनले बताए।

प्रतिकृया दिनुहोस