१० महिनामा ८० लाखको सियो, साँढे चार करोडको ट्वाइलेट पेपर आयात

Toilet paper

काठमाडौ‌ । देश स–साना कुरा समेत आत्मनिर्भर बन्न नसक्दा वार्षिक करोडौं रुपैयाका यस्ता सामानहरु आयात भएका छन्, जो पत्याउन मुस्किल पर्दछ ।

आयात भइरहेका सियो, टुथ पिक, ट्वाइलेट पेपर, चक, टुथ ब्रस, स्यानेटरी प्याड, धनियाँ, जौ, पानीजस्ता सामान्य सामानको नाम लेख्दै जाने हो भने लामै सूची हुन्छ । भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयात–निर्यातको विवरण हेर्ने हो भने करोडौं रुपैयाँका अति सामान्य वस्तुहरू आयात भइरहेको देखिन्छ ।

चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५९ हजार पाँच सय ४४ केजी सियो आयात भएको छ । जसको ८० लाख रुपैयाँ पर्दछ । विश्वका विभिन्न आठ देशबाट कपडा सिलाउन, बुन्न र मेसिनमा प्रयोग हुने फलाम र स्टिलको सियो आयात भएको भन्सार विभागको विवरणमा उल्लेख छ।

मुलुकले भारत, चीन, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, जर्मनी, नेदरल्यान्ड, टर्की र अमेरिकाबाट सियो आयात गर्छ । दस महिनामा भारतबाट सबैभन्दा धेरै १० हजार ६ सय पाँच केजी सियो आयात भएको छ । जसको मूल्य ४३ लाख १५ हजार छ । भारतभन्दा झन्डै आधा पाँच हजार एक सय ९७ केजी सियो ११ लाख ३३ हजार मूल्य तिरेर चीनबाट ल्याइएको छ । त्यस्तै ‘स्विङ मेसिन निडल’ शीर्षकमा २२ लाख ५० हजार मूल्यको चार हजार नौ सय ८१ केजी सियो आयात भएको छ ।

१० महिनामा ५९ हजार केजी सियो, २ लाख ५७ हजार केजी ट्वाइलेट पेपर र ७ हजार केजी टुथ पिक विभिन्न देशबाट आयात भएको छ ।

अर्को चाख लाग्दो विषय छ– मुलुकमा लाखौं रुपैयाको दाँत कोट्याउने ‘टुथ पिक’ आयात हुन्छ । यो थाइल्यान्डबाट समेत ल्याइन्छ । दस महिनामा सात लाख १६ हजार मूल्यको ७ हजार केजी काठको टुथ पिक आयात भएको छ । ‘उड टुथ पिक्स’ शीर्षकमा ५२ लाख ४८ हजार मूल्य तिरेर चीनबाट ५४ हजार केजी आएको छ । सोही शीर्षकमा भारतबाट एक सय ५५ केजी र थाइल्यान्डबाट एक सय २५ केजी ल्याइएको छ । जसको मूल्य क्रमशः १७ हजार र ११ हजार रहेको तथ्यांकमा उल्लेख छ ।

खाना खाएपछि दाँत कोट्याएर मात्र भएन, शौच पनि अनिवार्य हुन्छ । त्यही शौचका बेला प्रयोग हुने कागज (ट्वाइलेट पेपर) का लागि पनि विश्वका ६ वटा देशको भर पर्नुपरेको छ । मुलुकमा ‘ट्वाइलेट पेपर’ चीन, भारत, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र युएईबाट आयात भइरहेको छ ।

दस महिनामा दुई लाख ५७ हजार ८१ केजी ट्वाइलेट पेपर आयात भएको छ, जसको मूल्य चार करोड ३७ लाख नौ हजार रुपैयाँ तिर्नुपरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट एक करोड ५२ लाख ९३ हजार रुपैयाँमा एक लाख दुई हजार सात सय ८५ केजी खरिद गरेर ल्याइएको छ । मलेसियाबाट ७७ हजार केजी, इन्डोनेसियाबाट ४३ हजार केजी र भारतबाट ३० हजार केजी आयात भएको छ ।

ग्रामीण स्कुलमा प्रयोग हुने चक ६ लाख ७३ हजार केजी आयात गरिएको छ । जसको मूल्य झन्डै ७० लाख रुपैयाँ तिरिएको छ । त्यस्तै १० महिनामा ५४ हजार केजी सेफ्टी पिन र २२ करोड ६ लाखवटा टुथ ब्रस आयात भएको छ । दाँत माझ्ने ब्रसका लागि २७ करोड ७५ लाख रुपैयाँ तिर्नुपरेको छ । पूर्वअर्थसचिव रामेश्वर खनालले उत्पादन लागत धेरै र बजार कम हुँदा यस्ता सानासाना वस्तु विदेशबाट आयात गर्नुपरेको बताए ।

सियो, टुथ पिक, ट्वाइलेट पेपरजस्ता सामान भारत, चीन, थाइल्यान्ड, इन्डोनेसियालगायत देशले ठूलो मात्रामा उत्पादन गरी निर्यात गर्ने भएकाले ती वस्तु नेपालमा पनि सस्तो हुन गएका हुन्।

उनले आफू अर्थसचिव हुँदाको एक उदाहरण दिए । महिलाले प्रयोग गर्ने स्यानेटरी प्याडलाई नेपालमै उत्पादन गर्ने भनेर धेरै प्रयत्न गरे पनि लागत, बजारलगायत कारणले सफल हुन नसकेको उनले स्मरण गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...