संसदमा अर्थमन्त्रीको रुखो जवाफ, ५ सय मिटर कुद्दैमा कसले जित्छ कसले हार्छ ?

Yubaraj khatioda budget

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष राष्ट्र बैंकमा रकम थन्किने गल्ती नदोर्होयाउन प्रतिबद्धता जनाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक आय–व्ययको वार्षिक अनुमान माथिको छलफलका क्रममा प्रतिनिधिसभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा आइतबार अर्थमन्त्री खतिवडाले चालु वर्षको बजेटमा २ खर्ब खर्च नभएर राष्ट्र बैंकमा थन्किएकाले आगामी वर्ष त्यस्तो नहुने प्रतिवद्धता जनाएका हुन् ।

‘अर्को बजेटका बेला स्थानीय तहमा कर्मचारी समायोजन, संस्थाहरु निर्माण, कानुनहरु निर्माण भइसकेका हुने भएकोले त्यतिबेला बजेट बढाउन सकिन्छ’ उनले भने, ‘अहिले जसरी राष्ट्र बैंकमा पैसा थन्किएको छ, आगामी वर्ष त्यसरी पैसा जम्मा भएको सुन्न पाइने छैन ।’

बजेट केन्द्रिकृत र संघीयताविरोधी भएको सांसद्हरुको आरोपमा अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहलाई कानुनअनुसार बजेट बाँडफाँट गरेको प्रस्टीकरण दिए । ‘प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकारका आधारमा बजेट बाँडफाँड गरेको हुँ’ उनले भने, ‘संविधानले प्रदेश र स्थानीय तहलाई दिएका अधिकारहरु कति थिए । अर्थमन्त्रीले कानुनका आधारमा बाँडफाँट गर्ने हो ।’

उनले गति नभएको अर्थतन्त्रलाई गतिशील बनाउन बजेट, नीति कार्यक्रम ल्याउँदा बढी आलोचना भयो कि भन्ने आफूलाई महसुस भएको भन्दै अर्थमन्त्री खतिवडाले कुशासन र भ्रष्टाचारलाई रोक्न बजेटमा सुशासनलाई जोड दिएको बताए ।

बजेटमा नीति तथा कार्यक्रम र वाम गठबन्धनको घोषणापत्रका विषय छु्टेको भन्ने प्रसंगमा जवाफ दिँदै उनले छुटेका विषय आगामी बजेटमा आउन सक्ने संकेत गरे ।

‘हामी अलि लामै यात्रामा छौं । पहिलो ५ सय मिटर कुद्दैमा कसले जित्छ कसले हार्छ ? को अगाडि, को पछाडि भन्ने निक्र्यौल गर्नु छिटो हुन्छ’ उनले भने ‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही कुरा छुटे भन्नु ५०० मिटरमै जित हारको निक्र्यौल गर्न खोज्नु हो । हेर्दै जाउँ हामी म्याराथन जित्छौं ।’

अर्थमन्त्री खतिवडाले आरोप–प्रत्यारोप छाडेर बजेट कार्यान्वयनमा लाग्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस