वर्षदिनमा समेत बुझाएनन् जनप्रतिनिधिले सम्पत्ति विवरण

Local gov

काठमाडौं । निर्वाचित भएको वर्षदिन बितिसक्दा समेत कैयौं स्थानीय तहका जनप्रतिनिधिले खर्च बिबरण बुझाएका छैनन् ।

अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । पटकपटक ताकेता गर्दा पनि १८ जिल्लाका स्थानीय जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएका केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।

सम्पत्ति विवरण नबुझाउनेमा संखुवासभा, तेह्रथुम, ओखलढुंगा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, धादिङ, नवलपरासी पूर्व, मनाङ, हुम्ला, डोल्पा, जाजरकोट, अछाम, कैलाली, दार्चुला, बैतडी र कञ्चनपुरका जनप्रतिनिधि रहेका छन् । उनीहरुले पहिलो पटक वैशाख ३१ गते, दोस्रो पटक असार १४ र तेस्रो पटक असोज २ गते निर्वाचित भएता पनि अहिलेसम्म सम्पत्ति विवरण नबुझाएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११० अनुसार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण स्थानीय तहलाई बुझाई सोको जानकारी प्रदेश सरकारलाई दिनुपर्ने र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिले सो पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख छ ।

सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिलाई रु पाँच हजार जरिवाना गर्ने व्यवस्था छ ।

कुल ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधि छन् ।

प्रतिकृया दिनुहोस