तरकारीमा सिन्डिकेट : बिचौलियाले खान्छन् तीन सय प्रतिशत नाफा

Vegetables

काठमाडौं । तरकारीमा रहेको सिन्डिकेट र अनेकौं बिचौलियाका कारण किसानले बेचे भन्दै तीन सय प्रतिशत बढी मूल्य उपभोक्ताले तिर्नुपरिरहेको देखिएको छ ।

किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको हो । सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।

किसानदेखि उपभोक्तासम्म आइपुग्दा तरकारी संकलक, ठेकेदार (ढुवानीकर्ता), तरकारी बजार, थोक विक्रेता र खुद्रा विक्रेता हुँदै उपभोक्तासम्म आइपुग्ने भएकाले उपभोक्ता र किसान दुवै मर्कामा पर्ने गरेका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा काँक्राको थोक मूल्य प्रतिकेजी ४० देखि ४५ रुपैयाँका छ । तर, उपत्यकाकै भक्तपुरका कृषकले भने सो काँक्रोलाई २० रुपैयाँ केजीमा बिक्री गर्छन् ।

काभ्रेका किसानले प्रतिकेजी १० रुपैयाँका दरले बिक्री गरेको मुला काठमाडौंका उपभोक्ताले प्रतिकेजी ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् । किसानदेखि उपभोक्तासम्म पुग्दा मुलाको मूल्यमा पाँच सय प्रतिशतको अन्तर देखिन्छ ।

तरकारी व्यापारमा कायम मनपरी मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाउँदा सीमित व्यापारीले कृषकदेखि उपभोक्तासम्ममा कब्जा जमाई अकुत नाफा कमाउँदै आएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

किसानदेखि उपभोक्तासम्म विभिन्न चरणमा तरकारी खरिद बिक्री हुने गरेकाले तरकारीको मूल्यमा ठूलो अन्तर हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले अधिकांश तरकारी भारतबाट आउने भएकाले किसानले पाउने र उपभोक्ताले खरिद गर्ने मूल्यमा निकै अन्तर रहने गरेको जनाएको छ ।

समितिका उपनिर्देशक श्रेष्ठले जिल्लामा उत्पादित तरकारी आउने समय नभएकाले अधिकांश तरकारी भारतबाटै आयात भइरहेको बताए । जिल्लातिर उत्पादन हुने तरकारी जिल्लातिरै खपत भइरहेको र कालीमाटीमा अधिकांश तरकारी भारतबाटै आयात भइरहेकाले तरकारीको मूल्यमा फरक देखिएको उनको दाबी छ ।

सानो परिमाणमा कालीमाटी बजारमा आउने तरकारीमध्ये सडेर वा कुहिएर खेर जाने भएकाले पनि मूल्यमा एकरूपता नभएको उनको भनाइ छ । व्यवसायीबीच तरकारी बिक्री गर्ने प्रतिस्पर्धाका कारण तरकारीको मूल्यमा सामान्य फरक देखिने उनले बताए ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य तोक्ने वैज्ञानिक विधि हालसम्म छैन । तरकारी मूल्य तोक्ने मापदण्ड नहुँदा व्यवसायीले नोक्सान, ढुवानी लागतलगायतका आधारमा मूल्य निर्धारण गर्ने गरेको श्रेष्ठ बताउँछन् ।

प्रतिकृया दिनुहोस