साँढे ३३ किलो सुन प्रकरण : सकियो बयान, अधिकांशले बयान फेरे

Gold

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरुको बयान सकिएको छ । प्रहरी नियन्त्रणमा रहेका सबै ३० जनाको बयान मंगलबार सकिएको हो ।

मोरङ बार एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाका अनुसार प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको बयानभन्दा फरक विवरण अभियुक्तहरुले अदालतसमक्ष दिएका छन् ।

बयान दिने प्रहरीका उच्च अधिकारीले आफूहरुमाथिको आरोप अस्वीकार गरेका छन् । विमानस्थलका कर्मचारीहरुले सुन आएकोबारे आफूहरुलाई केही थाहा नभएको अदालतसमक्ष बताएका छन् । आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरुको भनाइ थियो । प्रहरीले अभियोग पत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरुले अदालतसमक्ष इन्कार गरेका छन् ।

मंगलबार तत्कालीन बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय प्रजीत केसी र सञ्जय राउतको बयान लिएसँगै बयान प्रक्रिया पूरा भएको हो । यसअघि पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको थियो । यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको बयान सकिएको थियो ।

यस्तै राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्की छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।

आरोपीहरुको थुनछेक बहस बिहीबार सुरू गरिने भएको छ । बुधबार कानुन दिवसका अवसरमा अदालत बन्द हुने भएकाले बिहीबार मात्रै बहस सुरू हुने भएको हो । प्रतिवादीका पक्षमा बहस गर्ने कानून व्यवसायीको संख्या बढी हुने अनुमानका आधारमा थुनछेकको बहस कम्तीमा पनि एक सातासम्म चल्ने सम्बद्ध कानून व्यवसायीको अनुमान छ ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको जनाएको छ ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

प्रतिकृया दिनुहोस