बीउ अनुदानको ७ लाख मात्र खर्च

Seed nank

दाङ । जिल्लाका किसानलाई सहुलियत अनुदान तथा व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले उपलब्ध गराएको ३९ लाखमध्ये ७ लाखमात्र अनुदानको बीउ उपलब्ध गराउन खर्च भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माका अनुसार सो शीर्षकमा ३२ लाख मौज्दात छ । नयाँ संरचनाअनुसार कृषि कार्यालय मातहतका सबै सेवाकेन्द्र स्थानीय तहमा गाभिएपछि पनि सरकारले सहुलियतमा किसानलाई बीउ उपलब्ध गराउन कृषि कार्यालयलाई उक्त रकम उपलब्ध गराएको हो ।

‘किसानको मागअनुसार सम्बन्धित स्थानीय तहमा अनुदानको बीउ उपलब्ध गराउँदै आएका छौँ’, उनले भने, ‘स्थानीय तहमा माग भए, अझै पनि मकै र धानको उन्नत जातको बीउ उपलब्ध गराउन सकिन्छ ।’

कार्यालयले सबै स्थानीय तहमा मागअनुसार, गहुँ, मसुरो, मकै र धानका उन्नत जातका बीउ उपलब्ध गराइरहेको छ । किसानलाई ५० प्रतिशत सहुलियत दरमा बीउ उपलब्ध गराउँदै आएको छ । स्थानीय बीउ उत्पादक सहकारी संस्थाले उत्पादन गरेका उन्नत जातका बीउ खरिद गरी किसानलाई सहुलियत दरमा बिक्री गरिँदै आएको छ ।

अहिले स्थानीय तहका कृषि शाखा कार्यालयमार्फत रामपुर कम्पोजिट जातको पहेँलो मकैको बीउ प्रतिकिलो ४० मा किसानलाई उपलब्ध गराइँदै आएको छ । विभिन्न जातका धानका बीउ स्थानीय तहका कृषि शाखामार्फत उपलब्ध गराइने शर्माले बताए । अहिले सबै तहमार्फत बीउकोे माग संकलन भइरहेको छ ।

कार्यालयले व्यक्तिगत तथा समूहगत रुपमा फलफूल खेती गर्ने किसानलाई फलफूलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । आँप, लिची, केरालगायत फलफूलका बिरुवाको माग स्थानीय तहमार्फत संकलन भइरहेको छ ।

दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सात गाउँपालिका मातहतका कृषि विकास शाखामार्फत उपलब्ध गराइने गरी मागअनुसार बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालयबाट करीब २० क्विन्टल रामपुर डिपोजिट जातको मकैको बीउ पहिलो चरणमा किसानलाई अनुदानस्वरुप उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म करीब १४ क्विन्टल बीउ वितरण भइसकेको छ ।

‘छ क्विन्टल बीउ जिल्ला कृषि विकास कार्यालयबाट ल्याइनेछ,’ शाखा कार्यालय तुलसीपुरका नायब प्राविधिक सहायक चन्द्रीका घर्तीले जानकारी दिइन ।

स्थानीय तहको बजेटबाट किसानलाई निःशुल्क रुपमा तरकारी बालीका बीउ उपलब्ध गराइएको उनले बताए । कार्यालयले २० क्विन्टल रामपुर कम्पोजिट मकै तथा करिब ४ सय किसानलाई बोडी, काँक्रा, भिन्डीलगायत तरकारीका बीउ वितरण गर्ने लक्ष्य लिएको छ ।

समूह र व्यक्तिलाई मकै बीउ आधा अनुदानमा तथा अन्य तरकारीको बीउ निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ । प्रतिकिलो ४० मा मकैको बीउ १३० जना तथा तरकारीको बीउ ३ सय किसानलाई वितरण गरिएको छ ।

प्रतिकृया दिनुहोस